काठमाडौँ,१० वैशाख । सार्वजनिक यातायातमा विद्यार्थीहरूले पाउँदै आएको ४५ प्रतिशत भाडा छुट कार्यान्वयनको माग गर्दै राजधानीमा प्रदर्शन गरिएको छ।
सरस्वती बहुमुखी क्याम्पसका संयुक्त विद्यार्थी संगठनहरूले बिहीबार नाराबाजीसहित साङ्केतिक विरोध प्रदर्शन गर्दै “विद्यार्थीको ४५% छुट कहाँ छ?” भन्ने सवाल उठाएका हुन्।
विद्यार्थीहरूले सरकारले दिएको सुविधा व्यवहारमा लागू नभएको भन्दै आफ्नो कानुनी अधिकार सुनिश्चित गर्न दबाब दिएका छन्।
यसअघि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले भने सरकारबाट पाउँदै आएको कर छुट सुविधा कटौती भएपछि विद्यार्थीलाई भाडा छुट दिन कठिन भएको बताएको थियो। व्यवसायीहरूका अनुसार २०६५ सालको सहमतिअनुसार विद्यार्थीलाई ४५% छुट दिएबापत सरकारले कर, रुट परमिट र जाँचपास शुल्कमा ६०% छुट दिने व्यवस्था थियो।
तर संघीयता लागू भएपछि कोशी प्रदेशबाहेक अन्य प्रदेशहरूले उक्त कर छुट हटाएपछि समस्या उत्पन्न भएको व्यवसायीहरूको भनाइ छ। यस विषयमा नेपाल यातायात व्यवसायीलाई समेत जानकारी गराइएको छ।
व्यवसायीहरूले कर छुट पुनः सुनिश्चित नगरेसम्म भाडा छुट पूर्ण रूपमा लागू गर्न नसकिने अडान राखेका छन् भने विद्यार्थी संगठनहरूले भने कुनै पनि बहानामा आफ्नो अधिकार कटौती गर्न नपाइने भन्दै आन्दोलनलाई निरन्तरता दिने चेतावनी दिएका छन्।

