बीरगन्ज,१० वैशाख । देशको प्रमुख व्यापारिक नाका बीरगन्ज हुँदै वस्तु तथा सामानको निर्यातमा उल्लेखनीय वृद्धि भएको छ।
बीरगन्ज भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्षको नौ महिनामा ७९ अर्ब ५४ करोड रुपैयाँ बराबरको वस्तु तथा सामान निर्यात भएको छ। अघिल्लो वर्ष सोही अवधिमा ६९ अर्ब ३५ करोड रुपैयाँ बराबरको निर्यात भएको थियो। यससँगै निर्यातमा करिब १० अर्ब १९ करोड रुपैयाँ अर्थात् १५ प्रतिशत वृद्धि भएको कार्यालयले जनाएको छ।
सूचना अधिकारी उदय सिंह विष्टका अनुसार यस अवधिमा प्रशोधित भटमासको तेल सबैभन्दा बढी ४३ अर्ब ६१ करोड रुपैयाँ बराबर निर्यात भएको छ।
त्यस्तै, प्रशोधित पाम तेल ५ अर्ब २४ करोड, सूर्यमुखी तेल ५ अर्ब ५ करोड, फलफूलको जुस ५ अर्ब ८४ करोड र कपडा २ अर्ब ६९ करोड रुपैयाँ बराबर निर्यात भएको छ।
व्यापार विशेषज्ञहरूका अनुसार औद्योगिक उत्पादन र प्रशोधित खाद्य तेलको निर्यात बढ्नुले मुलुकको निर्यात संरचनामा सकारात्मक संकेत देखिएको छ।

