सर्लाही,१३ वैशाख । सर्लाहीको धनकौल गाउँपालिका–४ मैनाथपुर पकाहा टोलमा शनिबार राति परेको चट्याङका कारण ठूलो क्षति भएको छ। घटनामा १४ वटा पशुचौपाया मरेका छन् भने एक जना व्यक्ति घाइते भएका छन्।
घाइते हुनेमा ६० वर्षीय सिताराम यादव रहेका छन्। राति करिब ११:३० बजे परेको चट्याङले उनको घर तथा गोठमा आगलागी हुँदा उनी शरीरका विभिन्न भागमा जलेर घाइते भएका हुन्। उनलाई तत्काल उपचारका लागि रौतहटस्थित तराई अस्पताल लगिएको छ भने उनको अवस्था मध्यम रहेको बताइएको छ।
घटनापछि आइतबार बिहान करिब ३ बजे सूचना प्राप्त भएपछि नेपाल प्रहरीको इलाका प्रहरी कार्यालय हरकठवाबाट टोली घटनास्थल पुगेको थियो। प्रारम्भिक विवरणअनुसार चट्याङ लागेपछि गोठमा आगलागी भई पशुचौपाया, अन्नपात तथा लत्ताकपडा जलेर नष्ट भएको हो।
प्रहरीका अनुसार आगलागीमा ९ वटा बाख्रा र ५ वटा भैँसी मरेका छन् भने एक वटा पाडा घाइते भएको छ। साथै घरमा भण्डारण गरिएको करिब १ क्विन्टल चामल, १० क्विन्टल धान, २ क्विन्टल गहुँ, १ क्विन्टल मुसुरो दालसहित सम्पूर्ण भाडाकुँडा र लत्ताकपडा पनि नष्ट भएको छ।
स्थानीय प्रशासनले घटनाबाट प्रभावित परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउने तयारी भइरहेको जनाएको छ।

