काठमाडौं,१३ वैशाख । राजधानीको मनोहरा क्षेत्रस्थित सुकुमवासी बस्ती हटाउने अभियानलाई आइतबार शान्तिपूर्ण रूपमा अघि बढाइएको छ। सो क्रममा करिब २ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ।
काठमाडौैं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एआईजी ईश्वर कार्कीका अनुसार हाल बस्ती हटाउने काम नियन्त्रण र समन्वयका साथ भइरहेको छ। उनले आफू पनि फिल्डमै उपस्थित रहेको र आवश्यक सुरक्षाको व्यवस्था गरिएको जानकारी दिए।
शनिबारको कारबाहीका क्रममा केही स्थानमा अवरोध र प्रहरीमाथि आक्रमण भएपछि आज भने ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको हो। हाल नेपाल प्रहरी र सशस्त्र प्रहरी बल दुवै निकायले संयुक्त रूपमा बस्ती खाली गराउने कार्यमा सहयोग गरिरहेका छन्।
प्रहरीका अनुसार करिब २ हजार सुरक्षाकर्मी खटाइएका छन् भने १२ वटा डोजर प्रयोग गरेर संरचना हटाउने काम भइरहेको छ। बस्तीमा रहेका बासिन्दाका सामान सुरक्षित रूपमा बाहिर निकाल्ने र व्यवस्थापन गर्ने कार्य पनि भइरहेको जनाइएको छ।
मनोहरा क्षेत्रमा जारी यो अभियानलाई स्थानीय प्रशासनले व्यवस्थित र शान्तिपूर्ण रूपमा अतिक्रमित जमिन खाली गराउने प्रयासका रूपमा अघि बढाएको छ।

