अभिव्यक्तिका कारण विवादमा रास्वपा सांसद विश्वराज पोखरेल

spot_img

काठमाडौं,१२ वैशाख । विश्वराज पोखरेल आफ्नो अभिव्यक्तिका कारण विवादमा परेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पोखरेलले विद्यालयका प्रधानाध्यापकलाई दिएको धम्कीपूर्ण अभिव्यक्तिपछि पार्टीभित्र र बाहिरबाट तीव्र आलोचना भइरहेको छ।

ओखलढुङ्गाबाट निर्वाचित तथा पूर्व एआइजी समेत रहेका पोखरेलले गृह जिल्लाको एक विद्यालयमा आफूलाई स्वागत गर्न नआएको भन्दै प्रधानाध्यापकप्रति असन्तुष्टि व्यक्त गरेका थिए। उनले “म आउँदैछु भनेपछि तपाईं निस्किनु पर्छ” भन्दै आफूलाई ‘माननीय’ र ‘विशिष्ट श्रेणीका कर्मचारी’का रूपमा प्रस्तुत गर्दै हेडमास्टरलाई हप्काएको भिडियो सार्वजनिक भएपछि विवाद चर्किएको हो।

यस विषयमा पूर्वशिक्षामन्त्री महावीर पुन ले कडा प्रतिक्रिया दिएका छन्। उनले सांसद जनताको सेवक भएको स्मरण गराउँदै यस्तो व्यवहार अस्वीकार्य भएको बताएका छन्। पुनले यस्ता अभिव्यक्ति दिने व्यक्तिलाई पदबाट हटाउनुपर्ने धारणा पनि सार्वजनिक गरेका छन्।

रास्वपाभित्रै पनि पोखरेलको अभिव्यक्तिप्रति असन्तुष्टि देखिएको छ। पार्टीका केन्द्रीय सदस्य गणेश कार्की ले सामाजिक सञ्जालमार्फत “भुईं नछोड्न” सुझाव दिएका छन्। सांसद पद क्षणिक हुने भन्दै नम्रता अपनाउन उनले आग्रह गरेका छन्।

यस्तै, शिक्षा क्षेत्रसँग सम्बन्धित व्यक्तित्व राजेन्द्र दाहाल ले पनि सार्वजनिक रूपमा आपत्ति जनाएका छन्। उनले प्रधानाध्यापकको अपमान गर्ने व्यक्तिलाई ‘माननीय’ भन्न मिल्ने कि नमिल्ने भन्ने प्रश्न उठाएका छन्।

पार्टीका कार्यकर्ता तथा समर्थकहरूबाट समेत पोखरेलको व्यवहारप्रति आलोचना भइरहेको छ। रास्वपाकी सक्रिय कार्यकर्ता स्वस्तिका लामिछाने ले सामाजिक सञ्जालमा सांसदले जनतासँग बोल्ने शैली सिक्नुपर्ने टिप्पणी गरेकी छन्।

सांसद पोखरेलको अभिव्यक्तिले राजनीतिक वृत्तमा प्रतिनिधिको आचरण र जिम्मेवारीबारे पुनः बहस सुरु गराएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय