जिउँदो व्यक्तिको मृत्यु दर्ता प्रकरण : वडाध्यक्ष–सचिवसहित चार जना पक्राउ

spot_img

पश्चिम नवलपरासी,१५ वैशाख । जिउँदो व्यक्तिको नाममा झुटो मृत्यु दर्ता गरेको गम्भीर आरोपमा स्थानीय जनप्रतिनिधिसहित चार जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सुस्ता गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष प्रभुनाथ अहिर र वडा सचिव संजयकुमार चौधरी पनि रहेका छन्।

जिल्ला प्रहरी कार्यालय नवलपरासी का अनुसार अदालतको आदेशपछि उनीहरूलाई पक्राउ गरिएको हो। उनीहरूमाथि झुटा विवरणका आधारमा मृत्यु दर्ता प्रमाणपत्र जारी गरेको आरोप लागेको छ।

अनुसन्धान अनुसार नारायणी पारी सुस्ताका ३१ वर्षीय तारिख मियाँ अन्सारीले आफ्नो बाबुको मृत्यु भएको दाबी गर्दै अर्का ६६ वर्षीय व्यक्तिको नाममा मृत्यु दर्ता गराएका थिए। तर ती व्यक्तिको मृत्यु भएको थिएन। वास्तविक रूपमा मियाँका बाबुको मृत्यु २०६० सालमै भइसकेको खुलेको प्रहरीले जनाएको छ।

यस घटनापछि मृत्यु दर्तामा नाम उल्लेख भएका वृद्धका छोराले प्रहरीमा जाहेरी दिएका थिए। सोही आधारमा अदालतमा मुद्दा दर्ता भई अनुसन्धान अघि बढाइएको हो।

मृत्यु दर्ताको कागजातमा साक्षी बसेका ५५ वर्षीय छोटे खाँ पनि पक्राउ परेका छन् भने अन्य सात जना फरार रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार यो कार्य राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन २०७६ अन्तर्गत गम्भीर कसुर हो। पक्राउ परेकामाथि अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय