झापा, १७ वैशाख । झापाको मेचीनगर क्षेत्रमा जंगली हात्तीको आक्रमणमा परेर आमाछोरी घाइते भएका छन्। मेचीनगर नगरपालिका–४ बाहुनडाँगी चोक नजिकै भएको घटनाले स्थानीयमा त्रास फैलाएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार आक्रमणमा ३८ वर्षीया सुनिता बज्राचार्य र उनकी १३ वर्षीया छोरी यवद्रा घाइते भएका हुन्। उनीहरूलाई उपचारका लागि नजिकैको स्वास्थ्य संस्थामा लगिएको छ भने दुवैको अवस्था सामान्य रहेको जनाइएको छ।
स्थानीयका अनुसार बाहुनडाँगी क्षेत्र विगतदेखि नै जंगली हात्तीको आवतजावत हुने संवेदनशील क्षेत्र मानिन्छ। बस्ती नजिकै हात्ती आइपुग्दा यसअघि पनि यस्ता घटना दोहोरिने गरेका छन्।
प्रहरीले रातको समयमा विशेष सतर्कता अपनाउन र जंगली जनावर देखिएमा नजिक नजान स्थानीयलाई आग्रह गरेको छ। सम्बन्धित निकायले हात्ती नियन्त्रण र मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि प्रभावकारी उपाय अपनाउनुपर्ने आवश्यकता स्थानीयले औंल्याएका छन्।

