काठमाडौं,२३ वैशाख । नेपाल रेडक्रस सोसाइटीको सबै तहमा हुने तय गरिएको निर्वाचन प्रक्रिया तत्कालका लागि स्थगित गरिएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंको निर्देशनपछि केन्द्रीय कार्यालयले निर्वाचनसम्बन्धी सम्पूर्ण कार्यक्रम यथास्थितिमा राख्ने निर्णय गरेको हो।
यसअघि पालिका, जिल्ला, प्रदेश तथा केन्द्रीय तहको निर्वाचन असार मसान्तभित्र सम्पन्न गर्ने तयारी गरिएको थियो। तर संस्थागत सुधार, विधान संशोधन र सदस्यता प्रक्रियामा देखिएका विवादका कारण निर्वाचन रोकिएको बताइएको छ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलका अनुसार निर्वाचनअघि संस्थाको विधान समयानुकूल परिमार्जन गर्नुपर्ने, नयाँ सदस्यता खुला गर्नुपर्ने तथा सबै तहमा निष्पक्ष प्रतिस्पर्धाको वातावरण सुनिश्चित गर्नुपर्ने आवश्यकता देखिएको छ। प्रशासनले हालको अवस्थामा निर्वाचन गराउँदा विवाद थप जटिल बन्न सक्ने निष्कर्ष निकालेको जनाएको छ।
केन्द्रीय कार्यालयले जारी गरेको परिपत्रअनुसार वैशाख २६ गतेदेखि सुरु हुने भनिएको पालिका तहको निर्वाचन अब अर्को सूचना नआएसम्म सञ्चालन हुने छैन। यसअघि जेठ १५ गते जिल्ला, असार २ गते प्रदेश तथा असार २४ र २५ गते केन्द्रीय समितिको निर्वाचन गर्ने तालिका तय गरिएको थियो।
महामन्त्री मीनबहादुर मल्लले अर्को निर्णय नभएसम्म सम्पूर्ण निर्वाचन प्रक्रिया रोकिएको पुष्टि गरेका छन्।
सरकारले विनोदकुमार शर्माको नेतृत्वमा गठन गरेको तदर्थ समितिलाई तीन महिनाभित्र नयाँ कार्यसमिति चयन गर्ने जिम्मेवारी दिएको थियो। तर लामो समयसम्म निर्वाचन हुन नसक्नु, कानुनी विवाद र आन्तरिक मतभेद बढ्दै जाँदा रेडक्रसभित्रको विवाद फेरि सतहमा आएको छ।


