बीरगन्ज,२४ वैशाख । सर्लाहीमा भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ। हरिपुर्वा नगरपालिका–९ खिला नजिक आज बिहान बस र मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको हो। ग १ ख ९४६७ नम्बरको बसले ना ४८ प ४७० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा महोत्तरीको गौशाला नगरपालिका–१२ कान्तिबजारका ३६ वर्षीय श्याम ठाकुर (पप्पु) गम्भीर घाइते भएका थिए।
घाइते ठाकुरलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार दुर्घटनामा संलग्न बस र बसधनी पर्सा गाउँपालिका–२ का २७ वर्षीय मानिष कुमार महतोलाई नियन्त्रणमा लिइएको छ।
बस चालक बद्री मण्डल भने घटनापछि फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनाबारे थप अनुसन्धान जारी छ।


