काठमाडौँको सुकुम्बासी बस्तीमा २६ सय घर भत्काइयो

spot_img

काठमाडौं,२४ वैशाख । काठमाडौँ उपत्यकाभित्र नदी किनार र सार्वजनिक जग्गामा बनेका सुकुम्बासी बस्ती हटाउने अभियान तीव्र बनेसँगै हजारौँ नागरिक विस्थापित भएका छन्। जिल्ला प्रशासन कार्यालय काठमाडौंको नेतृत्वमा सञ्चालन गरिएको अभियानअन्तर्गत हालसम्म १९ वटा बस्ती खाली गराइएको प्रशासनले जनाएको छ।

अभियानका क्रममा २ हजार ६ सय ८७ वटा घरटहरा भत्काइएको छ। तीमध्ये ८ सय ९० वटा पक्की घर र १ हजार ७ सय ९७ वटा कच्ची संरचना रहेका छन्।

प्रशासनका अनुसार बस्ती हटाउने अभियानबाट १५ हजार ३ सय १६ जना प्रत्यक्ष प्रभावित भएका छन्। विस्थापित हुनेहरूमा ६ हजार ८ सय ५८ पुरुष, ५ हजार ३ सय २५ महिला, १ हजार ४ सय ३७ बालक र १ हजार ६ सय ९६ बालिका रहेका छन्।

स्थानीयवासीले भने अचानक डोजर पुगेपछि घरभित्रका सामान समेत सुरक्षित राख्न नपाएको गुनासो गरेका छन्। विशेषगरी महिला, बालबालिका र ज्येष्ठ नागरिक बढी समस्यामा परेको उनीहरूको भनाइ छ।

प्रशासनले सार्वजनिक जग्गा संरक्षण, नदी क्षेत्र खाली गराउने र शहरी व्यवस्थापनका लागि अभियान आवश्यक भएको बताएको छ। तर वैकल्पिक बसोबासको व्यवस्था नगरी ठूलो संख्यामा नागरिक हटाइएकाले मानवीय संकट निम्तिएको भन्दै आलोचना पनि बढ्न थालेको छ।

विस्थापित धेरै परिवार अहिले अस्थायी टहरा र खुला स्थानमा बस्न बाध्य छन्। सरकारले पुनःस्थापना र राहतका विषयमा स्पष्ट योजना सार्वजनिक नगरेकाले प्रभावित परिवारहरू अन्योलमा परेका छन्।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय