काठमाडौँ,२५ वैशाख । संघीय संसदअन्तर्गत आज विभिन्न तीन संसदीय समितिको बैठक बस्ने भएको छ। बैठकहरूमा मन्त्रालयको कार्यप्रगति, समितिको कार्यविधि तथा आन्तरिक विषयमा छलफल हुने जनाइएको छ।
दिउँसो १ बजे बस्ने कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले हालसम्म गरेका कामकारबाही, चालु आर्थिक वर्षको प्रगति समीक्षा तथा आगामी कार्ययोजनाबारे छलफल गरिनेछ।
त्यस्तै, बिहान १०:३० बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा समितिको आन्तरिक विषयमा छलफल हुने कार्यसूची रहेको छ।
यसैगरी, दिउँसो १ बजे बस्ने राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको बैठकमा समितिको कार्यविधि सम्बन्धी विषयमा छलफल हुने संसद सचिवालयले जनाएको छ।




