बीरगन्ज,२५ वैशाख । बीरगन्जको गण्डक चोकमा ट्राफिक प्रहरीले सवारी चालकहरूको लागू पदार्थ सेवन (लापसे) चेकजाँच गर्दै जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा र स्थानीय चिकित्सकहरूको सहभागितामा आयोजित कार्यक्रममा चालकहरूको स्वास्थ्य परीक्षणसँगै लागू पदार्थ सेवन सम्बन्धी जाँच गरिएको थियो।
कार्यक्रमको उद्देश्य ट्राफिक नियमको पालना गराउन, लागू पदार्थ सेवन गरेर सवारी चलाउँदा हुने जोखिमबारे सचेतना फैलाउन तथा सडक दुर्घटना न्यूनीकरण गर्नु रहेको आयोजकले जनाएको छ।
कार्यक्रममा पर्सा ट्राफिक प्रमुख युवराज कटवाल ले चालकहरूलाई सुरक्षित यात्राका उपाय, ट्राफिक नियमको महत्व तथा जिम्मेवार ढंगले सवारी सञ्चालन गर्नुपर्ने विषयमा जानकारी दिएका थिए।




