काठमाडौं,२५ वैशाख । नेपाल रेडक्रस सोसाइटी का अध्यक्ष विनोद कुमार शर्मा ले संस्थाले प्रत्येक वर्ष ३५ लाखभन्दा बढी नागरिकलाई सेवा प्रदान गर्दै आएको बताएका छन्।
विश्व रेडक्रस तथा रेडक्रिसेन्ट दिवस २०२६ को अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष शर्माले रेडक्रसले समुदायस्तरमा प्रभावकारी रूपमा मानवीय सेवा विस्तार गर्न सफल भएको उल्लेख गरेका हुन्।
उनले नेपालमा रेडक्रसको तटस्थता, सुशासन र स्वतन्त्रतालाई अझ सुदृढ बनाउन आवश्यक कानुनको अभाव महसुस भइरहेको भन्दै त्यसका लागि पहल गर्न सरकार तथा सम्बन्धित निकायलाई आग्रह गरेका छन्।
शुभकामना सन्देशमा उनले मानवीय सेवामा खटिएका स्वयंसेवक, कर्मचारी तथा सहयोगी साझेदारहरूको योगदानको प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी, पारदर्शी र छिटो सेवा प्रवाह गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।
यस वर्षको विश्व रेडक्रस तथा रेडक्रिसेन्ट दिवसको नारा “मानवताका लागि एकबद्ध होऔँ” रहेको छ। उक्त नाराले संकटका बेला प्रभावित समुदायसँगै उभिने स्वयंसेवक र मानवीय सेवामा संलग्न व्यक्तिहरूको समर्पणलाई सम्मान गर्ने उद्देश्य राखेको रेडक्रसले जनाएको छ।




