सिरहा,२५ वैशाख । सिरहाको बरियारपट्टीस्थित छोटी भन्सार कार्यालय बन्द गर्ने सरकारी निर्णयविरुद्ध स्थानीयवासी तथा व्यापारीहरू आन्दोलित बनेका छन्। नेपाल सरकारले २०८३ वैशाख २१ गते राजपत्रमा सूचना प्रकाशित गर्दै छोटी भन्सार कार्यालय बन्द गर्ने निर्णय गरेपछि सीमावर्ती क्षेत्रमा विरोध चर्किएको हो।
आन्दोलनकारीहरूले निर्णयले सीमावर्ती व्यापार, राजस्व संकलन र स्थानीय आर्थिक गतिविधिमा प्रत्यक्ष असर पर्ने भन्दै चरणबद्ध आन्दोलन सुरु गरेका छन्। बिहीबार बिहान करिब पाँच घण्टा हुलाकी राजमार्ग अवरुद्ध गर्दै उनीहरूले जिल्ला प्रशासन कार्यालय सिरहामा ज्ञापनपत्रसमेत बुझाएका थिए।
बरियारपट्टी गाउँपालिका का वडाध्यक्ष विनोद कुमार यादवका अनुसार आन्दोलन कार्यक्रमअनुसार वैशाख २५ गते चक्काजाम, २६ गते र्याली तथा कोणसभा, २७ गते बजार बन्द र मसाल जुलुस तथा २८ गतेदेखि अनिश्चितकालीन आमहड्ताल गर्ने तयारी गरिएको छ।
शुक्रबार बिहानदेखि बरियारपट्टी चोकमा प्रदर्शनकारीहरूले सडकको बीचमा टायर बालेर र अवरोध राखेर हुलाकी मार्ग अवरुद्ध गरेका छन्। सडक अवरुद्ध हुँदा पूर्व–पश्चिम यातायात प्रभावित भएको छ भने नेपाल–भारत आवागमन गर्ने यात्रुहरू समस्यामा परेका छन्।
यता, जिल्ला प्रशासन कार्यालय सिरहा का प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले छोटी भन्सार हटाएपछि देखिएको असहजतालाई व्यवस्थापन गर्न माडर भन्सारबाट कर्मचारी खटाएर सेवा सञ्चालन गरिएको जानकारी दिएका छन्।
उनका अनुसार आन्दोलनकारीको ज्ञापनपत्र अर्थ मन्त्रालयमा पठाउने तयारी भइरहेको र मन्त्रालयको निर्णयपछि आवश्यक कदम चालिनेछ।




