काठमाडौं,२५ वैशाख । नेपालको परराष्ट्र मन्त्रालयले इरानको नियन्त्रणमा रहेका नेपाली नागरिक अमृत झाको रिहाइका लागि पहल जारी रहेको जनाएको छ। मन्त्रालयले शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमार्फत झा अझै इरानी सुरक्षाकर्मीको नियन्त्रणमै रहेको र आवश्यक कानुनी प्रक्रिया पूरा हुन बाँकी रहेको जानकारी दिएको हो।
मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल ले इरानको पछिल्लो जटिल परिस्थितिका कारण रिहाइ प्रक्रिया अपेक्षाअनुसार अगाडि बढ्न नसकेको बताए। उनका अनुसार नेपाल सरकार झाको परिवार तथा सम्बन्धित निकायसँग निरन्तर सम्पर्कमा रहँदै रिहाइका लागि कूटनीतिक पहल गरिरहेको छ।
अमृत झा इरानबाट इन्धन लिएर फर्किने क्रममा फारसी खाडीस्थित होर्मुज स्ट्रेट क्षेत्रमा इरानी रेभुलेसनरी गार्डको नियन्त्रणमा परेका थिए। उनी दुबईस्थित एक जहाज कम्पनीमा क्याप्टेनका रूपमा कार्यरत रहेको बताइएको छ।
परराष्ट्र मन्त्रालयले झाको सुरक्षित रिहाइ तथा स्वदेश फिर्तीका लागि आवश्यक सबै प्रयास जारी रहेको जनाएको छ।




