सिरहा,२६ वैशाख । विजयकुमार साहले जनता समाजवादी पार्टी नेपाल परित्याग गरेका छन्। जसपा नेपालको गोलबजार नगर समितिका अध्यक्ष रहेका साहले पद तथा पार्टीको साधारण सदस्यता दुवैबाट अलग हुने घोषणा गरेका हुन्।
साहले कार्यव्यस्तता र समय अभावका कारण पार्टीभित्र रहेर प्रभावकारी रूपमा जिम्मेवारी निर्वाह गर्न कठिन भएको निष्कर्षमा पुगेपछि राजीनामाको निर्णय गरेको बताएका छन्। उनले जिल्ला अध्यक्षलाई सम्बोधन गर्दै दिएको पत्रमा लामो समयदेखि पार्टी संगठन, जनसेवा र राजनीतिक अभियानमा सक्रिय रहँदै आएको उल्लेख गरेका छन्।
राजीनामा पत्रमा उनले पार्टीले आफूलाई दिएको अवसर, विश्वास र जिम्मेवारीप्रति आभार व्यक्त गर्दै नगर अध्यक्षको भूमिकालाई आफ्नो राजनीतिक जीवनको महत्वपूर्ण अध्यायका रूपमा स्मरण गरेका छन्। पार्टीप्रति सम्मान, आत्मीयता र आस्था भने सधैं कायम रहने पनि उनले उल्लेख गरेका छन्।
साहले पार्टीमा रहँदा साथ र सहयोग गर्ने नेता, कार्यकर्ता, शुभेच्छुक तथा आम जनसमुदायप्रति धन्यवाद व्यक्त गरेका छन्। उनी उद्योग वाणिज्य संघ गोलबजार का अध्यक्ष समेत हुन्।




