काठमाडौं,२६ वैशाख । गीता चौधरी ले खाद्य गुणस्तर, सेवा प्रवाह र पारदर्शितामा थप सुधार गर्न सम्बन्धित निकायलाई निर्देशन दिएकी छन्। शुक्रबार खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग को अनुगमनका क्रममा उनले विभागको भूमिका नागरिक स्वास्थ्य संरक्षणका लागि अत्यन्त महत्वपूर्ण रहेको बताइन्।
मन्त्री चौधरीले प्रत्येक नागरिकले उपभोग गर्ने खाद्य तथा दाना पदार्थको स्वच्छता र गुणस्तर सुनिश्चित गर्नु विभागको मुख्य जिम्मेवारी भएको उल्लेख गर्दै खाद्य प्रविधिको विकासमार्फत मूल्य अभिवृद्धि, पोषण सुधार र निर्यात प्रवर्द्धनमा विभागको योगदान उल्लेखनीय रहेको बताइन्।
उनले खाद्यवस्तुको विविधीकरण, खाद्य प्रशोधन सहयोगी सामग्रीको प्रयोग, सीमित मापदण्ड, प्रयोगशाला सेवा विस्तारको अभाव तथा स्रोतसाधनको कमीका कारण नियमन कार्य चुनौतीपूर्ण बन्दै गएको स्वीकार गरिन्। तर नियमित बजार अनुगमन, गुणस्तर परीक्षण, मोबाइल परीक्षण सेवा र नियम उल्लंघनकर्तामाथि कारबाहीलाई सकारात्मक उपलब्धिका रूपमा व्याख्या गरिन्।
मन्त्री चौधरीले ‘गुनासोरहित, छरितो र प्रभावकारी सेवा प्रवाह’ सुनिश्चित गर्न विशेष जोड दिँदै सेवाग्राहीसँग घुस माग्ने, ढिलासुस्ती गर्ने वा नाकामा अनावश्यक बार्गेनिङ गर्ने प्रवृत्ति कुनै हालतमा सह्य नहुने स्पष्ट पारिन्।
उनले बजारदेखि उत्पादनस्थलसम्म नियमित अनुगमन, खाद्य अनुमति तथा आयात प्रक्रियालाई सहज बनाउने, प्रयोगशाला सेवा विस्तार गर्ने तथा विषादी, हेभी मेटल, माइकोटक्सिन र पानीको गुणस्तर परीक्षणलाई थप प्रभावकारी बनाउन निर्देशन दिइन्।
यसका साथै भेटेरिनरी ड्रग रेसिड्यु परीक्षण, आहारपूरक खाद्य नियमन, उद्योगीलाई प्राविधिक परामर्श, ट्रान्स फ्याट नियन्त्रण तथा खाद्य सामग्रीको लेबलिङ, प्याकेजिङ र म्यादसम्बन्धी निगरानीलाई पनि प्राथमिकतामा राख्न उनले सम्बन्धित अधिकारीलाई आग्रह गरिन्।




