रौतहट,२६ वैशाख । गत पुष महिनामा पूर्व–पश्चिम राजमार्गमा दुर्घटना भई झण्डै २४ घण्टा सडक अवरुद्ध बनाएको भारतीय ग्यास बुलेट ट्यांकर अझै अलपत्र अवस्थामा रहेको छ। दुर्घटनापछि राजमार्गबाट हटाएर ल्याइएको ट्यांकर चार महिना बितिसक्दा पनि सम्बन्धित सवारीधनी लिन नआएको प्रहरीले जनाएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुर का अनुसार उक्त ट्यांकर अहिले कार्यालय परिसरमै राखिएको छ। राजेन्द्र थापामगर ले सवारीधनीलाई चालकमार्फत जानकारी गराइए पनि अहिलेसम्म कसैले सम्पर्क नगरेको बताए।
२०८२ साल पुष १५ गते यूपी १७ एपी २११४ नम्बरको एलपी ग्यास बुलेट ट्यांकर भारतबाट वीरगञ्ज नाका हुँदै पूर्वतर्फ जाँदै गर्दा चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको दोस्रो लच्कानजिक दुर्घटनामा परेको थियो। स्टेरिङ जाम भएर अनियन्त्रित बनेको ट्यांकर सडकको बीच भागमै पल्टिएपछि यातायात करिब २४ घण्टा अवरुद्ध भएको थियो।
दुर्घटनामा भारतका चालक पवन यादव घाइते भएका थिए। ग्यास चुहावट र आगलागीको जोखिमका कारण तत्काल उद्धार तथा व्यवस्थापनमा कठिनाइ भएको प्रहरीले जनाएको छ। आवश्यक उपकरणको अभावका कारण सबै ग्यास बाहिर निकालेर मात्रै ट्यांकर हटाउन सम्भव भएको थियो।
भारतीय नम्बर प्लेटको सवारी भएकाले कानुनी तथा प्रशासनिक प्रक्रिया जटिल बनेको र ट्यांकर अन्यत्र व्यवस्थापन गर्न कठिनाइ भइरहेको प्रहरीले जनाएको छ।




