काठमाडाै,२९ वैशाख । राष्ट्रिय परीक्षा बोर्ड ले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा नन–ग्रेडेड भएका विद्यार्थीका लागि पूरक परीक्षा सञ्चालन गर्ने निर्णय गरेको छ।
बोर्डले सोमबार नतिजा सार्वजनिक गर्दै पूरक परीक्षा आगामी असार १ गतेदेखि सुरु हुने जानकारी दिएको हो। बोर्डका अनुसार परीक्षा असार ९ गतेसम्म सञ्चालन हुनेछ।
यसपटकको पूरक परीक्षा विशेषगरी नन–ग्रेडेड (एनजी) भएका विद्यार्थीलाई लक्षित गरेर सञ्चालन गर्न लागिएको जनाइएको छ।
यस वर्षको एसईई परीक्षामा नियमिततर्फ ४ लाख ३० हजार ६६७ विद्यार्थी सहभागी भएका थिए। तीमध्ये २ लाख ८४ हजार १६० विद्यार्थी ग्रेडेड भएका छन् भने १ लाख ४६ हजार ५०७ विद्यार्थी नन–ग्रेडेड भएका छन्।
बोर्डले पूरक परीक्षाको विस्तृत तालिका, परीक्षा केन्द्र तथा अन्य आवश्यक जानकारी चाँडै सार्वजनिक गरिने जनाएको छ।



