spot_img

मोबाइल र चर्को संगीतले बढायो सवारी दुर्घटना : सांसद राजेन्द्र राई

spot_img
spot_img

काठमाडौँ,२९ वैशाख ।  नेकपा एमालेका सांसद राजेन्द्रकुमार राईले सवारी दुर्घटनाको मुख्य कारण चालकले मोबाइल प्रयोग गर्नु र गाडीभित्र चर्को संगीत बजाइनु रहेको बताएका छन्। उनले सडक सुरक्षाबारे भइरहेका बहसमा यस्ता विषयलाई बेवास्ता गरिएको भन्दै विज्ञहरूको भूमिकामाथि प्रश्न उठाएका छन्।

मंगलबार पूर्वाधार विकास समितिको बैठकमा बोल्दै सांसद राईले सवारी चलाउँदा मोबाइल प्रयोग तथा गाडीभित्र हुने अत्यधिक नाचगान र डिजे शैलीको संगीतले चालकको ध्यान विचलित बनाउने र दुर्घटना निम्त्याउने बताए।

उनले आगामी कानुनमा सवारी चलाउँदा मोबाइल प्रयोगमा कडाइ गर्नुपर्ने तथा पिकनिक वा यात्राका क्रममा गाडीभित्र चर्को संगीत बजाउने कार्यमाथि प्रतिबन्ध लगाउनुपर्ने सुझाव समेत दिएका छन्।

“दुर्घटनाका मुख्य कारणमध्ये मोबाइल र गाडीभित्रको चर्को संगीत पनि हुन्, तर यसतर्फ पर्याप्त ध्यान दिइएको देखिँदैन,” उनले भने।

सांसद राईले सडक निर्माणको गुणस्तरबारे पनि टिप्पणी गर्दै पुराना सडक अझै टिकाउ रहेको तर नयाँ सडकमा बारम्बार समस्या देखिने गरेको बताए। उनले बेलायती सहयोगमा निर्माण भएको धरान–धनकुटा सडकको उदाहरण दिँदै अहिलेका पूर्वाधार आयोजनाको दिगोपनमाथि प्रश्न उठाए।

त्यस्तै, उनले लेउती खोला क्षेत्रजस्ता स्थानमा हरेक वर्ष दोहोरिने पहिरो र सडक अवरोधको स्थायी समाधान खोज्न नसकिएको भन्दै सम्बन्धित निकायको कार्यशैलीप्रति असन्तुष्टि जनाए।

कोशी राजमार्गलगायत राष्ट्रिय राजमार्ग कुनै पनि अवस्थामा लामो समय अवरुद्ध हुन नहुने उल्लेख गर्दै उनले सडक अवरुद्ध भए तत्काल सञ्चालनमा ल्याउने प्रभावकारी संयन्त्र आवश्यक रहेको बताए।

spot_img

ताजा अपडेट

लोकप्रिय