spot_img

मन्त्रीले नियुक्त गरेका चालक अपहरण र बन्धक आरोपमा पक्राउ

spot_img
spot_img

सप्तरी, २९ वैशाख । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले सवारी चालक पदमा नियुक्त गरेका मुस्तकिम मिँया अपहरण तथा शरीर बन्धक बनाएको आरोपमा पक्राउ परेका छन्।

महादेवा गाउँपालिका–१ घर भई हाल राजविराज–३ मा बस्दै आएका २७ वर्षीय मुस्तकिम मिँयालाई प्रहरीले सोमबार नियन्त्रणमा लिएको हो। उनीमाथि अपहरण, शरीर बन्धक तथा अपमानजनक व्यवहारसम्बन्धी आरोपमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

प्रहरीका अनुसार एक पीडितले दिएको किटानी जाहेरीका आधारमा अनुसन्धान अघि बढाइएको हो। जाहेरीमा मुस्तकिमले एक व्यक्तिलाई एकान्त स्थानमा बन्धक बनाई कुटपिट गरेको, डरत्रास देखाएको तथा कपडा खोल्न बाध्य पारेर भिडियो खिचेको आरोप लगाइएको छ। उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि घटनाले थप चर्चा पाएको थियो।

सप्तरी प्रहरीका प्रवक्ता डीएसपी डम्बरबहादुर पुरीका अनुसार जिल्ला अदालत राजविराजबाट सात दिनको म्याद लिएर अनुसन्धान भइरहेको छ। उनलाई राजविराज–८ क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

मुस्तकिमलाई मन्त्री यादवले २०८२ चैत २७ गते हलुका सवारी चालक पदमा नियुक्त गरेका थिए। नियुक्तिपत्रमा उनको नाम “मो। मुस्तकिम” उल्लेख भए पनि प्रहरी विवरणमा “मुस्तकिम मिँया” नाम प्रयोग गरिएको छ। दुवै नाम एउटै व्यक्तिको भएको स्रोतले जनाएको छ।

घटनापछि सामाजिक सञ्जालमा उनको आलोचना चुलिएको छ। केहीले उनलाई राजनीतिक संरक्षणमार्फत जोगाउन खोजिएको आरोपसमेत लगाएका छन्।

प्रहरीका अनुसार मुस्तकिमले आफूलाई “जेनजी आन्दोलन” का अगुवा भन्दै विभिन्न गतिविधिमा संलग्न हुँदै आएका थिए।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय