बारा,२९ वैशाख । बाराको निजगढ नगरपालिका–९ बुद्धचोकस्थित एक होटलमा शङ्कास्पद अवस्थामा मृत्यु भएकी युवतीको शव पोस्टमार्टमका लागि काठमाडौं पठाइएको छ।
वैशाख २५ गते गुरुङ होटलमा बसेकी निजगढ–१२ की २५ वर्षीया सीता थिङ घाइते अवस्थामा फेला परेपछि प्रहरीले उद्धार गरी नजिकैको सामुदायिक अस्पताल प्रसूति गृहमा पुर्याएको थियो। अस्पतालले उनलाई मृत घोषणा गरेको थियो।
जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी नरेन्द्र कुँवरका अनुसार घटनाको प्रकृति शङ्कास्पद देखिएकाले शव त्रिवि शिक्षण अस्पताल काठमाडौं पठाइएको हो। पोस्टमार्टम रिपोर्ट आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार मृतकसँग होटलमा १८ वर्षीया अनु सुनार, जितपुरसिमरा–१६ टाङ्गिया बस्तीका ३५ वर्षीय महेश माझी र ३६ वर्षीय सुनिल बोम्जन पनि सँगै पुगेका थिए। सीता थिङ र महेश माझी एउटै कोठामा बसेका थिए।
घटनापछि प्रहरीले मृतकसँगै रहेका तीनै जनालाई पक्राउ गरी ज्यानसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ।
प्रारम्भिक बयानमा महेश माझीले सीता थिङ शौचालयमा झुन्डिएको अवस्थामा फेला परेको र आफूहरूले उद्धार गरेको बताएका छन्। अर्को कोठामा रहेका अनु सुनार र सुनिल बोम्जनले पनि झुन्डिएको अवस्थामा देखेपछि सहयोग गरेको दाबी गरेका छन्।
तर प्रहरीले मृतकको घाँटीमा चोटको दाग देखिएको र महेश माझीको गालामा समेत चोट भेटिएकाले घटनामा झगडा वा हत्या संलग्न हुन सक्ने आशंकामा अनुसन्धान भइरहेको जनाएको छ।
घटनापछि फरार रहेका सुनिल बोम्जनलाई टाङ्गिया बस्ती नजिकैको जंगलबाट र महेश माझीलाई निजगढ–७ क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।



