काठमाडौँ,३१ वैशाख । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र लामो समयदेखि चल्दै आएको भागबन्डा र गुटबन्दीको राजनीति अन्त्य गरी पूर्ण एकताका साथ अघि बढ्नुपर्ने बताएका छन्।
पोखरामा आयोजित नेपाली कांग्रेस को गण्डकी प्रदेशस्तरीय भेलामा बोल्दै उनले ६०/४० को भागबन्डा संस्कृतिबाट बाहिर निस्केर सबैलाई समेट्ने “१०० प्रतिशत कांग्रेस” निर्माण गर्नुपर्नेमा जोड दिए।
शर्माले पार्टीभित्र विशेष महाधिवेशनको विरोधमा रहेका नेताहरूलाई पनि सम्मानजनक जिम्मेवारी दिइएको उल्लेख गर्दै कसैलाई पाखा नलगाइएको दाबी गरे।
उनले पछिल्ला निर्णयहरूलाई उदाहरण दिँदै महिला संघको नेतृत्व, संसदीय दलको जिम्मेवारी र केन्द्रीय समितिमा गरिएको मनोनयनलाई पार्टी एकताको प्रयासका रूपमा व्याख्या गरे।
उपसभापति शर्माले आन्तरिक निर्णय प्रक्रियामा देखिने दोहोरो मापदण्ड अन्त्य हुनुपर्ने बताउँदै सबै पक्षलाई समेटेर अघि बढ्न नेतृत्वलाई आग्रह गरे।



