बीरगन्ज,०२ जेठ । बीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहसहित चार जनाविरुद्ध पर्सा जिल्ला अदालतमा लिखत सम्बन्धी कसुर मुद्दा दर्ता भएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालयले झुटा विवरण पेश गरी नागरिकता र राहदानी बनाएको आरोपमा शुक्रबार मुद्दा दर्ता गरेको हो। अदालतका श्रेस्तेदार प्रभाकर कुमार मलिक का अनुसार उक्त मुद्दा अदालतमा ८२–सी–१–१०८३ नम्बरमा दर्ता गरिएको छ।
मुद्दामा नगर प्रमुख सिंहसँगै सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–१० निवासी रिता भट्टराई, रुविना श्रेष्ठ तथा वीरगञ्ज महानगरपालिकाका तत्कालीन पञ्जीकरण अधिकारी भिखारी रायलाई प्रतिवादी बनाइएको छ। उनीहरूमाथि मुलुकी अपराध संहिता, २०७४ को दफा ४१ अन्तर्गत कारबाहीको माग गरिएको छ।
अभियोग अनुसार नगर प्रमुख सिंहले रिता भट्टराईलाई आफ्नी श्रीमती भएको झुटो विवरण पेश गर्दै २०७१ माघ २० गते रुविना श्रेष्ठको जन्मदर्ता गराएको आरोप छ। सोही आधारमा २०७५ साउन १० गते नागरिकता र त्यसको केही दिनपछि राहदानी बनाइएको सरकारी पक्षको दाबी छ।
यसै घटनासँग सम्बन्धित थप तीन वटा मुद्दा पनि अदालतमा दर्ता भएका छन्। एउटा मुद्दामा रुविना श्रेष्ठविरुद्ध अपराध पीडित संरक्षण ऐन अन्तर्गत सजाय माग गरिएको छ भने अर्कोमा झुटो विवरणका आधारमा नागरिकता लिएको आरोपमा जरिवाना माग गरिएको छ। राहदानी र नागरिकता दुवैमा झुटा विवरण प्रयोग गरेको अभियोगमा कैद तथा जरिवानाको मागसहित अर्को मुद्दा दर्ता भएको अदालतले जनाएको छ।
घटनाबारे अदालतमा कानुनी प्रक्रिया अघि बढिसकेको छ।



