बीरगन्ज,०२ जेठ । बीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो १० महिनामा झन्डै दुई खर्ब रुपैयाँ राजस्व संकलन गरेको छ । साउनदेखि वैशाख मसान्तसम्म कार्यालयले १ खर्ब ९९ अर्ब ४० करोड रुपैयाँ राजस्व संकलन गरेको हो ।
भन्सार विभागले यो अवधिका लागि २ खर्ब २३ अर्ब १८ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य निर्धारण गरेको थियो । हालसम्म लक्ष्यको ८९.३५ प्रतिशत मात्र राजस्व उठेको कार्यालयले जनाएको छ ।
भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार पेट्रोलियम पदार्थको आयात, सवारीसाधन तथा त्यसका पार्टपुर्जाहरू राजस्व संकलनका प्रमुख स्रोत बनेका छन् ।
वार्षिक रूपमा भने कार्यालयलाई २ खर्ब ७३ अर्ब ३९ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य दिइएको छ । बाँकी दुई महिनामा थप राजस्व उठाउने प्रयास भइरहेको कार्यालयले जनाएको छ ।
मासिक तथ्यांकअनुसार साउनमा १८ अर्ब ४४ करोड, भदौमा २० अर्ब ७३ करोड, असोजमा १९ अर्ब ९ करोड, कात्तिकमा १७ अर्ब ३३ करोड, मंसिरमा २० अर्ब ८० करोड रुपैयाँ संकलन भएको थियो ।
त्यस्तै, पुसमा २० अर्ब २० करोड, माघमा १८ अर्ब ९२ करोड, फागुनमा १९ अर्ब ३४ करोड, चैतमा २२ अर्ब ८२ करोड र वैशाखमा २१ अर्ब ७४ करोड रुपैयाँ राजस्व संकलन भएको सूचना अधिकारी विष्टले जानकारी दिए ।



