जनकपुर,०२ वैशाख । मधेस प्रदेश सरकारलाई समर्थन गर्ने वा नगर्ने भन्ने विषयमा जनता समाजवादी पार्टी नेपाल भित्र आन्तरिक मतभेद देखिएको छ। मुख्यमन्त्री कृष्ण यादवले जेठ ८ गते विश्वासको मत लिने तयारी गरिरहेका बेला जसपा नेपाल भने स्पष्ट निर्णयमा पुग्न सकेको छैन।
शुक्रबार बसेको पार्टीको मधेस प्रदेश संसदीय दलको बैठक निष्कर्षविहीन बनेपछि विश्वासको मतको समयसमेत हेरफेर गर्नुपरेको बताइएको छ।
जसपा नेपालका २६ सांसदमध्ये अधिकांशले अहिलेको अवस्थामा सरकारमा सहभागी हुनु उपयुक्त नहुने धारणा राखेका छन्। तर, सरकारमा जाने परिस्थिति बने आफूहरूले नै नेतृत्व गर्नुपर्ने अडान उनीहरूको छ।
बैठकमा पूर्वमुख्यमन्त्री लालबाबु राउत सहित केही नेताहरूले वर्तमान सरकारलाई निरन्तरता दिनुपर्ने पक्षमा धारणा राखेका थिए। सरकारमै रहेका मनिष सुमन, रानी शर्मा तिवारी र राजु गुप्ताले नीति तथा कार्यक्रम र बजेट निर्माणकै समयमा सरकार परिवर्तनको बहस उपयुक्त नहुने बताएका छन्।
पूर्वमुख्यमन्त्री लालबाबु राउतले हालसम्मको अवस्था हेर्दा मुख्यमन्त्री कृष्ण यादवलाई समर्थन गर्ने सहमति बनेको संकेत दिए। यद्यपि, ८ गतेसम्म राजनीतिक परिस्थिति फेरिन सक्ने सम्भावना पनि उनले खुला राखे।
तर पार्टीभित्र अर्को समूह भने सरकारको कार्यशैलीप्रति असन्तुष्ट देखिएको छ। पूर्वमुख्यमन्त्री सरोज यादवले सरकारले अपेक्षाअनुसार काम गर्न नसकेको आरोप लगाउँदै वर्तमान नेतृत्वको कार्यसम्पादन कमजोर रहेको टिप्पणी गरे।
यस्तै, प्रदेशसभा सदस्य जैनुल राइनले अन्तिम निर्णय केन्द्रको निर्देशनअनुसार हुने बताए। उनका अनुसार प्रदेशस्तरमा छलफल भइरहे पनि अन्तिम लाइन पार्टी नेतृत्वले तय गर्नेछ।
यसैबीच, जसपा नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल बीच एकता प्रक्रिया अघि बढेपछि मधेस प्रदेश संसदीय दलको नेता बन्न नेताहरूबीच दौडधुप पनि तीव्र बनेको छ। दुवै पक्षका नेताहरूले नेतृत्वमा दाबी गरिरहेका छन्।



