सप्तरी,०२ जेठ । सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष दीनानाथ चौधरी पुनः आफ्नो पदमा फर्किनुभएको छ । उच्च अदालत जनकपुर–राजविराज इजलासले बुधबार चौधरीको पक्षमा फैसला गरेपछि उहाँ शुक्रबारदेखि पुनः अध्यक्षको जिम्मेवारी सम्हाल्नुभएको हो ।
कार्यालयमा फर्किएलगत्तै प्रमुख प्रशासकीय अधिकृत धीरेन्द्र यादवसहित कर्मचारीहरूले अध्यक्ष चौधरीलाई स्वागत गरेका थिए ।
तर, पदभार ग्रहणका क्रममा निवर्तमान कार्यवाहक अध्यक्ष कल्पनाकुमारी चौधरी, कुनै पनि वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरूको उपस्थिति नरहेको स्थानीयवासीले बताएका छन् । वडा नम्बर ४ का वडाध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता तेजनारायण यादवले समयमै जानकारी नपाएकाले जनप्रतिनिधिहरू उपस्थित हुन नसकेको दाबी गर्नुभयो ।
करीब नौ महिनाअघि अध्यक्ष चौधरीले राजीनामा दिएको भन्दै कार्यपालिका सदस्यहरूको बहुमतले उपाध्यक्ष कल्पनाकुमारी चौधरीलाई कार्यवाहक अध्यक्ष बनाएको थियो । त्यसपछि अध्यक्ष चौधरीको पदलाई लिएर विवाद उत्पन्न भएको थियो ।
यसअघि कार्यपालिका बैठकको निर्णय बदरको माग गर्दै अध्यक्ष चौधरीले दायर गरेको रिटमा अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो । सो निर्णयपछि उपाध्यक्ष चौधरी कार्यवाहक अध्यक्षका रूपमा काम गर्दै आउनुभएको थियो ।
तर, पछिल्लो पटक उच्च अदालतले मुद्दाको अन्तिम टुंगो नलागेसम्मको अवस्थाबारे गरेको व्याख्या र बुधबार आएको फैसलापछि अध्यक्ष चौधरी पुनः आफ्नो पदमा फर्किनुभएको हो ।



