बीरगन्ज,०२ जेठ । मुलुककै प्रमुख स्थल नाका मानिने बीरगन्ज भन्सार कार्यालय चालु आर्थिक वर्षको राजश्व लक्ष्य पूरा गर्न दबाबमा परेको छ । लगानीमैत्री वातावरणको अभाव, तस्करी, अवैध व्यापार तथा व्यापार सहजीकरणमा देखिएको कमजोरीका कारण अपेक्षित राजश्व संकलन हुन नसकेको भन्सार कार्यालयले जनाएको छ ।
कार्यालयको तथ्यांकअनुसार चालु आर्थिक वर्षका लागि २ खर्ब ७३ अर्ब ३९ करोड रुपैयाँ राजश्व संकलनको लक्ष्य तोकिएको भए पनि वैशाख मसान्तसम्म १ खर्ब ९९ अर्ब ४० करोड रुपैयाँ मात्रै संकलन भएको छ । यो कुल लक्ष्यको करिब ७३ प्रतिशत मात्र हो ।
अब आर्थिक वर्ष सकिन दुई महिना बाँकी रहँदा करिब ७३ अर्ब रुपैयाँ थप राजश्व उठाउनुपर्ने अवस्था रहेको छ, जसलाई चुनौतीपूर्ण मानिएको छ ।
वैशाख महिनामा मात्रै २३ अर्ब ८४ करोड रुपैयाँ राजश्व उठाउने लक्ष्य राखिएकोमा २१ अर्ब ७४ करोड रुपैयाँ संकलन भएको कार्यालयले जनाएको छ । मासिक लक्ष्यको झन्डै ९२ प्रतिशत राजश्व संकलन भए पनि अपेक्षित उपलब्धि हासिल हुन नसकेको अधिकारीहरूको भनाइ छ ।
भन्सार कार्यालयका अनुसार डिजेल, एलपी ग्यास, पेट्रोलियम पदार्थ, सवारीसाधन तथा औद्योगिक कच्चा पदार्थ आयातबाट सबैभन्दा बढी राजश्व संकलन भएको छ । विशेषगरी डिजेल र एलपी ग्यास आयातले राजश्वमा ठूलो योगदान पुर्याएको देखिएको छ ।
कार्यालयका प्रमुख भन्सार प्रशासक कृष्णप्रसाद मैनालीले उद्योग–व्यवसाय विस्तार हुन नसक्नु, औद्योगिक कच्चा पदार्थको आयात घट्नु, खुला सीमाबाट हुने तस्करी तथा अवैध कारोबारले राजश्वमा असर परेको बताए ।
उनका अनुसार सीमामा हुने प्रक्रियागत झन्झट, ढुवानी समस्या र पूर्वाधार अभावले वैधानिक व्यापार प्रभावित भइरहेको छ । व्यापार सहजीकरण प्रभावकारी नहुँदा आयात–निर्यात गतिविधिमा समेत असर परेको उनको भनाइ छ ।
भन्सार कार्यालयले तस्करी नियन्त्रण, निगरानी प्रणाली थप कडा बनाउने, डिजिटल प्रणाली विस्तार गर्ने तथा व्यापार सहजीकरण सुधार गर्ने कामलाई तीव्रता दिइरहेको जनाएको छ ।



