काठमाडौं,०२ जेठ । भारतले चिनी निर्यातमा रोक लगाए पनि नेपालमा चिनीको पर्याप्त मौज्दात रहेको नेपाल चिनी उत्पादक संघले जनाएको छ । संघका अनुसार हालको अवस्थामा बजारमा चिनीको अभाव हुने अवस्था छैन र मूल्य पनि तत्काल नबढ्ने बताइएको छ ।
संघले जारी गरेको विज्ञप्तिअनुसार चालु क्रसिङ सिजनमा सञ्चालनमा आएका १३ वटा चिनी उद्योगमार्फत करिब १ लाख ९० हजार ८ सय ७० मेट्रिक टन चिनी उत्पादन भएको छ ।
त्यसमध्ये हाल उद्योगमै करिब १ लाख ८ हजार मेट्रिक टन चिनी मौज्दात रहेको र बजारमा थप २० हजार मेट्रिक टन चिनी उपलब्ध रहेको संघले जनाएको छ ।
संघका अनुसार आगामी क्रसिङ सिजन सुरु नहुँदासम्म पनि नेपालमा चिनीको आपूर्ति सहज रहने भएकाले तत्काल मूल्यमा कुनै उल्लेखनीय वृद्धि नहुने स्थिति रहेको छ ।
उद्योगीहरूले उपभोक्तालाई अनावश्यक भण्डारण नगर्न आग्रह गर्दै बजारमा कृत्रिम अभाव सिर्जना नगर्न पनि अनुरोध गरेका छन् ।



