काठमाडाै,०३ जेठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारका पछिल्ला गतिविधिप्रति गम्भीर असन्तुष्टि जनाउँदै सडक र सदन दुवैबाट प्रतिवाद गर्ने चेतावनी दिएका छन्। सुर्खेतको वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सरकारको नियतमाथि नै प्रश्न उठेको बताए।
प्रचण्डले संविधान संशोधनसम्बन्धी बहसपत्र, अध्यादेशमार्फत कानुन ल्याउने प्रवृत्ति, विद्यार्थी तथा कर्मचारी ट्रेड युनियन खारेजीजस्ता विषयले सरकारप्रति अविश्वास बढाएको टिप्पणी गरे। उनका अनुसार सरकारले संसद्को नियमित प्रक्रियालाई बेवास्ता गर्दै अध्यादेशको बाटो रोज्नु लोकतान्त्रिक अभ्यासविपरीत भएको हो।
उनले सरकारका कामकारबाही अहिले समर्थन गर्न सकिने अवस्थामा नरहेको स्पष्ट पार्दै जनताको आवाज उठाउन आफूहरू बाध्य भएको बताए। लोकतन्त्रको रक्षा, संविधानको संरक्षण र आवश्यक सुधारका पक्षमा भने सकारात्मक सहयोग गर्न तयार रहेको उनको भनाइ थियो।
संविधान संशोधनका लागि तयार पारिएको बहसपत्रसमेत पारदर्शी ढंगले अगाडि नबढाइएको भन्दै उनले त्यसलाई पनि गम्भीर बहसको विषय बनाएका छन्। साथै, सुकुमवासीहरूको समस्या समाधानमा ढिलाइ भइरहे भविष्यमा जटिल अवस्था सिर्जना हुन सक्ने चेतावनी पनि उनले दिए।
फरक प्रसंगमा प्रचण्डले नेपालमा वामपन्थी शक्तिहरूबीच एकताको सम्भावना रहेको उल्लेख गरे। जनताले समयअनुसार राजनीतिक विकल्प खोज्ने गरेको भन्दै वाम एकतामार्फत कम्युनिस्ट जनमतलाई फेरि एकजुट गर्न सकिने उनको विश्वास छ।



