बीरगन्ज,०३ जेठ । बीरगन्ज नाका हुदैं शंकास्पद रुपमा भारत प्रवेश गर्दै गरेको एक चिनीया नागरिकलाई भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नियन्त्रणमा लिएको छ ।
नेपाल भारत सीमाको मितेरी पुलबाट एसएसबीले ५७ वर्षीय चिनिया नागरिक याओ शुझांगलाई नियन्त्रणमा लिएको हो । गत शुक्रबार वीरगन्ज नाका हुदैं रक्सौल जाँदै गरेको अवस्थामा शुझांगलाई एसएसबीले रोकेर सोधपुछ गर्दा उनको साथामा पासपोर्ट भएपनि भारत प्रवेशका लागि भिसा भने नरहेपछि नियन्त्रणमा लिएको हो ।
प्रारम्भिक अनुसन्धानका क्रममा , एसएसबीको नियन्त्रणमा रहेका चिनीया नागरिक शुझांगले आँफु खेलौनाका सामानको व्यपारी रहेको बताएका छन् । उनको साथबाट लड़ाकू विमान स्पाइडर मैंन मुखौटा सहितका खेलौना पनि बरामद भएको एसएसबीले जनाएको छ ।
गत मे ११ तारिकमा काठमाडौं पुगेका उनि चितवन पुगेको र त्यहाँबाट उनि वीरगन्ज आएर शंकराचार्य गेट हुदैं गत शुक्रबार रक्सौल प्रवेश गर्न लागेका बेला एसएसबीले मितेरी पुलबाट नियन्त्रणमा लिएको हो ।
एसएसबीको नियन्त्रणमा रहेका शुझांगले चाइनीज भाषामात्रै बोलिरहेका कारण अनुसन्धानमा कठिनाई भइरहेको रक्सौल एडीपीओ मनीष आनन्दले बताए ।



