बीरगन्ज,०३ जेठ । बीरगन्ज महानगरपालिका–१० मा आयोजित चौथो वडास्तरीय क्रिकेट प्रतियोगिताको उपाधि बागमती टोलीले जितेको छ।
ठाकुरराम बहुमुखी क्याम्पसको क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा बागमतीले गण्डकीलाई ८ विकेटले पराजित गर्दै च्याम्पियन बनेको हो।
गण्डकीले दिएको ११६ रनको लक्ष्य बागमतीले १३ ओभरमै दुई विकेट गुमाएर सहज रूपमा पूरा गरेको थियो। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गण्डकी १९.५ ओभरमा ११५ रनमै समेटिएको थियो।
प्रतियोगिताको समापन समारोहमा वडा नम्बर १० का कार्यवाहक वडाध्यक्ष सन्तोष जैशी चौलागाईंले विजेता बागमती टोलीलाई नगद २१ हजार रुपैयाँसहित ट्रफी प्रदान गरे। उपविजेता गण्डकी टोलीले नगद १५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरेको थियो।
वैशाख २६ गतेदेखि सुरु भएको प्रतियोगितामा वडा नम्बर १० का युवा तथा किशोर सहभागी ८ टोलीको प्रतिस्पर्धा रहेको थियो। वडा कार्यालयको आयोजनामा भएको प्रतियोगितालाई घडिअर्वा स्पोर्ट्स क्लब र पशुपति आदर्श क्लबले सहयोग गरेका थिए।
प्रतियोगिताको उद्घाटन सुशील साह कानुले गरेका थिए। समापन समारोहमा मार्चपासतर्फ उत्कृष्ट प्रदर्शन गर्ने विद्यालयहरूलाई समेत पुरस्कृत गरिएको थियो।
कार्यक्रममा उद्योगपति अशोक बैद्य, वडा सदस्यहरू, खेलकुदकर्मी, क्लब प्रतिनिधि तथा स्थानीय समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।



