बारा,०३ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीकोले बारा जिल्लामा जारी सबै संगठनात्मक गतिविधि अस्थायी रूपमा स्थगित गरेको छ।
पार्टीको जिल्ला संगठन निर्माण विशेष समितिले अर्को निर्णय नभएसम्म वडा, पालिका तथा निर्वाचन क्षेत्रस्तरका सम्पूर्ण गतिविधि रोक्ने निर्णय गरेको हो। समितिकी संयोजक कामिनी चौधरीद्वारा जारी सूचनामा सदस्यता वितरण कार्य भने नियमित रूपमा सञ्चालन हुने उल्लेख गरिएको छ।
विशेष समितिको जेठ १ गते बसेको बैठकले जिल्लाभित्र देखिएका संगठनात्मक विवाद तथा समन्वय अभाव समाधान गर्न विस्तारित बैठक बोलाउने निर्णयसमेत गरेको जनाएको छ।
निर्धारित बैठक आगामी जेठ ९ गते शनिबार बिहान ११ बजे करण राज प्यालेसमा बस्नेछ।
बैठकमा संघीय सांसद, केन्द्रीय तथा प्रदेश समितिका पदाधिकारी, विभिन्न विभागका प्रतिनिधि, विघटित जिल्ला समिति, निर्वाचन क्षेत्र समितिका सभापति, वडा तथा पालिका तहका पदाधिकारीलगायतको सहभागिता रहने जनाइएको छ।
पार्टीले विस्तारित बैठक सम्पन्न भएर आवश्यक निर्णय नआएसम्म कुनै पनि नयाँ संगठनात्मक कार्यक्रम सञ्चालन नगर्न सम्बन्धित सबैलाई निर्देशन दिएको छ।



