काठमाडौँ,०३ जेठ । गगन थापाले नेपाली कांग्रेसलाई एकताबद्ध बनाउन आफू विधानको परिधिभित्र रहेर आवश्यक सबै कदम चाल्न तयार रहेको बताएका छन्।
नेपाली कांग्रेस सभापति थापाले आइतबार काठमाडौंमा आयोजित एक अन्तर्क्रिया कार्यक्रममा बोल्दै १५औँ महाधिवेशनलाई निष्पक्ष, पारदर्शी र विश्वसनीय बनाउने विषयमा आफू प्रतिबद्ध रहेको बताएका हुन्।
उनले १४औँ महाधिवेशनबाट बाहिरिएका नेताहरूलाई समेत सम्मानजनक ढंगले पार्टीको मूल संरचनामा समेट्ने इच्छा व्यक्त गरे। पार्टीभित्र सबैलाई समान दृष्टिकोणले हेर्ने र योगदानका आधारमा जिम्मेवारी दिने नीति अपनाइने उनको भनाइ थियो।
सभापति थापाले महाधिवेशनसँग सम्बन्धित समिति तथा संरचना गठन गर्दा पनि निष्पक्षता कायम गर्न आफू तयार रहेको स्पष्ट पारे। उनले पार्टीको निर्णय प्रक्रियामा ‘विशेष महाधिवेशनमा सहभागी भयो वा भएन’ भन्ने आधार नबनाइने उल्लेख गरे।
थापाले आफूले अग्रज नेताहरूलाई व्यक्तिगत रूपमा भेटेर पार्टी एकताको पक्षमा सहकार्य गर्न आग्रह गर्दै आएको समेत बताए। पार्टीलाई विभाजनभन्दा सहमति र सहकार्यको बाटोमा अघि बढाउन आफू निरन्तर प्रयासरत रहेको उनको भनाइ थियो।



