काठमाडौं,०६ जेठ । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राईले सरकार संसद्प्रति जवाफदेही नभएको आरोप लगाउँदै आफ्नो पार्टीको विरोध कार्यक्रम जारी रहने बताएका छन्।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै राईले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल भइरहेका बेला प्रधानमन्त्री र मन्त्रीहरू सदनमा अनुपस्थित रहने प्रवृत्तिप्रति आपत्ति जनाए। संसद् जनताको आवाज उठाउने सर्वोच्च थलो भएकाले सरकार त्यसप्रति उत्तरदायी हुनुपर्ने उनको भनाइ थियो।
उनले श्रम संस्कृति पार्टीले लगातार सातौँ दिनसम्म पर्चा र पम्प्लेटसहित सदनमा विरोध जारी राखेको उल्लेख गर्दै सरकार जिम्मेवार नबन्दासम्म आन्दोलन नरोक्ने चेतावनी दिए।
सांसद राईले संसद्को नियमावली सरकारका हकमा प्रभावकारी रूपमा लागू नभएको टिप्पणी गर्दै प्रधानमन्त्रीदेखि मन्त्रीहरूसम्म संसद्बाटै चुनिएकाले सदनप्रति जवाफदेही हुनुपर्ने धारणा राखे।
उनले सभामुख डोलप्रसाद अर्याल लाई प्रधानमन्त्री र मन्त्रीहरूलाई संसद्मा अनिवार्य उपस्थित गराउन रुलिङ गर्न आग्रह पनि गरे।
यसअघि सदनमा निरन्तर अवरोध र विरोध भएपछि सभामुख अर्यालले सांसदहरूलाई कारबाहीको चेतावनी दिएका थिए।



