spot_img

मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिँदै

spot_img
spot_img

जनकपुर,०८ जेठ । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज (शुक्रबार) प्रदेश सभाबाट विश्वासको मत लिँदै छन् । विश्वासको मत प्रयोजनका लागि आज दिउँसो १ बजे प्रदेश सभाको विशेष बैठक आह्वान गरिएको छ ।

यसअघि जनमत पार्टीले गत वैशाख २१ गते सरकारबाट समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले जेठ १ गते नै विश्वासको मत लिने तयारी गरेका थिए । तर, त्यतिबेला आफ्नै दल नेपाली काङ्ग्रेसभित्र चुलिएको आन्तरिक असन्तुष्टि र तत्कालीन साझेदार जनता समाजवादी पार्टी (जसपा) नेपालले तत्काल पक्षमा मतदान गर्ने निर्णय नगर्दा मुख्यमन्त्री पछि हट्न बाध्य भएका थिए ।

सोही राजनीतिक दाउपेचकै बीच विश्वासको मत लिने पूर्वसन्ध्यामा मधेशको सत्ता समीकरणमा नाटकीय फेरबदल भई काङ्ग्रेसले सत्ताको नयाँ साझेदारका रूपमा नेकपा एमालेलाई भित्र्याएको छ।

नयाँ राजनीतिक ध्रुवीकरणसँगै मुख्यमन्त्री यादवले सरकारमा रहेको जसपा नेपालका तीन मन्त्रीहरू- भौतिक पूर्वाधार मन्त्री राजकुमार गुप्ता, शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा र श्रम तथा यातायात मन्त्री मनिष सुमनलाई पदबाट बर्खास्त गरेका छन्, जसका कारण काङ्ग्रेस, नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बीच मधेशमा नयाँ तीन दलीय शक्तिशाली गठबन्धन निर्माण भएको छ।

नवगठबन्धन बनेलगत्तै मुख्यमन्त्रीले जसपा र जनमतका मन्त्रीहरूलाई मार्गप्रशस्त गर्न निर्देशन दिएपछि जनमतका तर्फबाट अर्थमन्त्री महेशप्रसाद यादव र खेलकुद मन्त्री बसन्त कुशवाहाले राजीनामा दिएका थिए भने राजीनामा दिन अस्वीकार गर्ने जसपाका मन्त्रीहरू बर्खास्तीमा परेका हुन् । रिक्त मन्त्रालयमा एमालेका मोहम्मद समिरलाई विनाविभागीय मन्त्री नियुक्त गरी शपथ खुवाइसकिएको छ भने बाँकी शक्तिशाली मन्त्रालयहरू हाल मुख्यमन्त्री आफैँले राखेका छन् ।

यस नयाँ राजनीतिक समीकरणसँगै मुख्यमन्त्री यादवको सरकार तत्कालका लागि पूर्ण रूपमा संकटमुक्त देखिएको छ । कुल १०७ सदस्यीय मधेश प्रदेश सभामा बहुमत सिद्ध गर्न ५४ सांसदको समर्थन आवश्यक पर्नेमा वर्तमान तीन दलीय गठबन्धनसँग स्पष्ट बहुमत रहेको छ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) समेत समाहित भई २६ सिट सुरक्षित गरेको जसपा नेपाल अब विपक्षमा धकेलिएको छ भने दुई सांसद हाल निलम्बनमा छन् ।

सत्ताको नयाँ गणितअनुसार एमालेको २४, काङ्ग्रेसको २२ र नेकपाको १५ सिट गरी नवगठबन्धनको पक्षमा स्पष्ट ६१ मत पुग्ने देखिन्छ, जुन सरकार टिकाइराख्न पर्याप्त छ । अर्कोतर्फ, विपक्षमा जनमत पार्टीको १२, राप्रपा र नेपाल सङ्घीय समाजवादी पार्टीको १-१ सिटसहित जसपा नेपाल रहने भए पनि उनीहरूसँग सरकार ढलाउने अङ्कगणित छैन, जसका कारण मुख्यमन्त्री यादवले आज सहजै विश्वासको मत प्राप्त गर्ने निश्चित प्रायः छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय