बीरगन्ज,०८ जेठ । मधेश प्रदेशसभाको बैठक विद्युत् अवरुद्ध भएपछि केहीबेरका लागि स्थगित गरिएको छ। मुख्यमन्त्री कृष्णप्रसाद यादवले लिएको विश्वासको मतमाथि छलफल भइरहेका बेला अचानक बिजुली गएपछि बैठक प्रभावित बनेको हो।
नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवले आफ्नो धारणा राखिरहेका बेला विद्युत् आपूर्ति बन्द भएको थियो। त्यसपछि बैठक कक्ष अँध्यारो बनेको थियो भने माइकको लाइनसमेत काटिएको थियो। प्रदेशसभा बैठकको प्रत्यक्ष प्रसारण पनि प्रभावित भएको जनाइएको छ।
प्रदेशसभामा रहेको जेनेरेटरसमेत इन्धन अभावका कारण तत्काल सञ्चालन हुन सकेन। बैठक कक्ष अन्धकार भएपछि सांसदहरू बाहिर निस्किन थालेका थिए। त्यसपछि सभामुखले बैठक केहीबेरका लागि स्थगित गरेका हुन्।
पछि कर्मचारीहरू जेनेरेटरका लागि इन्धन लिएर पुगेका छन् भने विद्युत् आपूर्ति पुनः सञ्चालन गर्ने प्रयास भइरहेको जनाइएको छ।



