जनकपुर,०८ जेठ । मधेश प्रदेशको सत्ता समीकरणमा आएको अप्रत्याशित फेरबदलपछि मधेश केन्द्रित दुई प्रमुख राजनीतिक शक्ति— उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल र सीके राउत नेतृत्वको जनमत पार्टी—बीच पार्टी एकताको गृहकार्य सुरु भएको छ।
मधेश प्रदेश सरकारबाट बाहिरिनुपरेको अवस्थाबीच दुवै दलका शीर्ष नेताहरू नयाँ राजनीतिक रणनीति र अस्तित्व जोगाउने प्रयासस्वरूप एकतर्फ उन्मुख भएका हुन्। स्रोतका अनुसार बिहीबार काठमाडौँमा यादव र राउतबीच दिनभर चलेको वार्ता सकारात्मक र महत्वपूर्ण मानिएको छ।
राजनीतिक रूपमा एकअर्काका कट्टर प्रतिद्वन्द्वीका रूपमा चिनिँदै आएका यी दुई नेताबीचको संवादलाई अर्थपूर्ण रूपमा हेरिएको छ। २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा सप्तरी–२ बाट राउतले यादवलाई पराजित गरेपछि दुई शक्तिबीचको टकराव चुलिएको थियो। त्यसपछि बाराको उपनिर्वाचनमा पनि जनमत पार्टीले यादवलाई संसद् प्रवेशबाट रोक्न सक्रिय भूमिका खेलेको थियो।
तर, बदलिँदो राजनीतिक परिस्थितिले पुराना तिक्तता पन्छाउँदै सहकार्यतर्फ धकेलेको देखिन्छ। दुवै दलका नेताहरूबीच विगत केही दिनदेखि अनौपचारिक छलफल हुँदै आएकोमा अहिले त्यसले औपचारिक रूप लिन थालेको हो।
जसपा नेपालका एक नेताका अनुसार प्रारम्भिक छलफलमा सैद्धान्तिक, नीतिगत तथा साङ्गठनिक विषयहरूमा केन्द्रित भएर संवाद भएको छ। “दुवै दल अहिले सत्ता बाहिर छन्। मधेशको भावना र अधिकारको आन्दोलनलाई पुनर्जीवित गर्न एकता अपरिहार्य भएको महसुस नेतृत्वमा देखिएको छ,” ती नेताले बताए।
यसअघि पनि मधेश केन्द्रित दलहरूबीच एकता र मोर्चाबन्दीका प्रयासहरू भएका थिए, तर नेतृत्व विवाद र शक्ति बाँडफाँटको असहमतिका कारण ती प्रयास सफल हुन सकेका थिएनन्। अहिले भने नयाँ शक्ति सन्तुलनसहित एकीकरणको स्पष्ट मोडालिटी खोज्ने प्रयास भइरहेको बताइएको छ।
विश्लेषकहरूका अनुसार यदि यादव र राउतबीच एकता सम्भव भएमा यसले मधेश प्रदेशको शक्ति समीकरण मात्र होइन, राष्ट्रिय राजनीतिमा समेत महत्वपूर्ण प्रभाव पार्नेछ।



