काठमाडौं,०८ जेठ । प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समिति ले मूल्यवृद्धिका कारण प्रभावित विकास निर्माणका काम तत्काल सुचारु गर्न सरकारलाई निर्देशन दिएको छ। समितिको शुक्रबार बसेको बैठकपछि सभापति आशिष गजुरेल ले सार्वजनिक पूर्वाधार आयोजनामा देखिएका समस्या तत्काल पहिचान गरी नागरिकलाई राहत हुने गरी काम अघि बढाउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिइएको जानकारी दिए।
समितिका अनुसार इन्धन, बिटुमिन लगायत निर्माण सामग्रीको मूल्य अत्यधिक बढेपछि धेरै निर्माण व्यवसायीले काम अघि बढाउन नसकेको अवस्था सिर्जना भएको छ। यसले विकास आयोजना मात्रै होइन, राष्ट्रिय अर्थतन्त्रमा समेत गम्भीर असर पार्न सक्ने भन्दै तत्काल समाधान खोज्न सरकारलाई आग्रह गरिएको हो।
बैठकमा विशेषगरी पश्चिम क्षेत्रमा जारी युद्धको प्रभावले निर्माण सामग्रीको लागत आकासिएको विषय गम्भीर रूपमा उठाइएको थियो। समितिले मूल्यवृद्धिका कारण कतिपय आयोजना ठप्प हुने अवस्थामा पुगेको निष्कर्ष निकालेको छ।
त्यस्तै, समितिले हालको सार्वजनिक खरिद कानुन विकासमैत्री नभएको भन्दै त्यसलाई संशोधन गर्न पनि सरकारलाई निर्देशन दिएको छ। कानुनी जटिलताले निर्माण कार्य प्रभावित भएको उल्लेख गर्दै चालु संसदीय अधिवेशनमै सार्वजनिक खरिद कानुन परिमार्जन सम्बन्धी विधेयक ल्याउन सुझाव दिइएको हो।
बैठकमा सहभागी सुनिल लम्साल ले निर्माण क्षेत्रमा देखिएको मूल्यवृद्धि नेपालको इतिहासकै सबैभन्दा ठूलो संकट भएको बताएका थिए। उनका अनुसार डिजेल लगायत सामग्रीको मूल्य बढ्दा पूर्वाधार निर्माण क्षेत्र गम्भीर दबाबमा परेको छ भने मन्त्रालयको बजेट व्यवस्थापनमा समेत ठूलो असर परेको छ।



