सिरहा,०९ जेठ । सरकारले सिरहाको बरियारपट्टीस्थित छोटी भन्सार कार्यालय बन्द गर्ने निर्णय गरेपछि स्थानीयवासीको आन्दोलन थप चर्किएको छ। सीमावर्ती क्षेत्रका व्यापारी, जनप्रतिनिधि तथा विभिन्न राजनीतिक दलका नेताहरूले सरकारको निर्णयविरुद्ध निरन्तर विरोध प्रदर्शन गरिरहेका छन्।
शनिबार बिहानदेखि बरियारपट्टी गाउँपालिका–३ स्थित छोटी भन्सार कार्यालयको मुख्य गेट अगाडि स्थानीयहरूले धर्ना दिएका छन्। आन्दोलनकारीहरूले सरकारको निर्णय तत्काल फिर्ता लिन माग गर्दै नाराबाजीसमेत गरेका थिए।
नेपाल सरकारले २०८३ वैशाख २१ गते राजपत्रमा सूचना प्रकाशित गर्दै बरियारपट्टी छोटी भन्सार कार्यालय बन्द गर्ने निर्णय गरेको थियो। स्थानीयका अनुसार उक्त निर्णयले सीमावर्ती व्यापार, राजस्व संकलन, स्थानीय रोजगारी तथा आर्थिक गतिविधिमा प्रत्यक्ष असर पर्नेछ।
स्थानीय व्यापारी तथा सर्वसाधारणले भन्सार बन्द भएपछि दैनिक नेपाल–भारत आवतजावत गर्ने नागरिक र सयौं मजदुर तथा व्यवसायी प्रभावित हुने बताएका छन्।
धर्ना कार्यक्रमको नेतृत्व गरिरहेका वडा नम्बर ३ का अध्यक्ष विनोदकुमार यादवले सरकारमाथि सीमावर्ती क्षेत्रप्रति विभेदपूर्ण व्यवहार गरेको आरोप लगाए। उनले भन्सार कार्यालय बन्द गर्ने निर्णयले स्थानीय व्यापार धराशायी बन्ने खतरा रहेको बताए।
बरियारपट्टी बजार व्यवस्थापन समितिका अध्यक्ष अमियकुमार यादवले पटक–पटक ज्ञापनपत्र बुझाउँदा र शान्तिपूर्ण आन्दोलन गर्दा पनि सरकारले कुनै चासो नदेखाएको गुनासो गरे। उनले जनताको आवाज बेवास्ता गरिए आन्दोलन अझ सशक्त बनाइने चेतावनी दिए।
यसअघि आन्दोलनकारीहरूले वैशाख २३ गते जिल्ला प्रशासन कार्यालय सिरहामार्फत सरकारलाई ज्ञापनपत्र बुझाएका थिए भने वैशाख २४ देखि २८ गतेसम्म चरणबद्ध विरोध कार्यक्रम सञ्चालन गरेका थिए। स्थानीयहरूले सरकारले समयमै निर्णय फिर्ता नलिए थप कडा आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएका छन्।



