काठमाडौं,०९ जेठ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले सरकारी विज्ञापन वितरणलाई पारदर्शी बनाइएको दाबी गरेका छन्। उनले विज्ञापन वितरणमा हुने अनियमितता र चलखेल रोक्न सरकार गम्भीर रहेको पनि बताएका छन्।
रेडियो सगरमाथाको ३० औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री तिमिल्सिनाले सञ्चार क्षेत्रभित्र वास्तविक आवश्यकता भएका संस्थाले राज्यको सहयोग नपाउने तर केहीले दुरुपयोग गर्ने प्रवृत्ति देखिएको टिप्पणी गरे।
उनका अनुसार पाउनुपर्ने मिडियाले सहयोग नपाइरहेको र नपाउनुपर्नेले फाइदा उठाइरहेको विषयमा पर्याप्त आवाज नउठ्नु दुःखद भएको छ। साथै श्रमजीवी पत्रकार, अनुसन्धानकर्ता र सरोकारवालाहरूले यस विषयमा पर्याप्त अध्ययन र बहस नगरेको पनि उनले बताए।
मन्त्री तिमिल्सिनाले जनताको करबाट संकलित सरकारी स्रोतको उपयोग पारदर्शी, उत्तरदायी र जनहितमा आधारित हुनुपर्नेमा जोड दिए।
उनले लोककल्याणकारी विज्ञापनमार्फत राज्यले सञ्चार क्षेत्रलाई सहयोग गर्दै आएको उल्लेख गर्दै वार्षिक करिब ३० करोड रुपैयाँभन्दा बढी रकम यस शीर्षकमा खर्च हुने गरेको जानकारी दिए।
उनका अनुसार अहिलेको मिडिया क्षेत्र केही असन्तुलित देखिएको भन्दै जनहितमा काम गर्ने सञ्चारमाध्यमलाई मात्रै राज्यको सहयोग उपलब्ध गराउनुपर्ने आवश्यकता रहेको छ। साथै सुधारका लागि सञ्चार क्षेत्रबाट रचनात्मक सुझाव र बहस आवश्यक रहेको उनले बताए।



