काठमाडौं,०९ जेठ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारीका विचारहरूको गम्भीर अध्ययन, व्यापक बहस र समयअनुकूल विकास गर्ने जिम्मेवारी अहिलेको युवा पुस्ताको काँधमा आएको बताएकी छन्।
शनिबार आयोजित ‘मिडियामा मदन भण्डारी’ पुस्तक विमर्श तथा युवा बहस कार्यक्रममा बोल्दै उनले मदन भण्डारीका विचारहरू वर्तमान नेपाली राजनीतिमा अझै सान्दर्भिक र आवश्यक रहेको धारणा व्यक्त गरिन्।
उनले लोकतन्त्र, राजनीतिक नैतिकता, सुशासन, सामाजिक न्याय र राष्ट्रिय एकताजस्ता विषय अहिले पुनः राष्ट्रिय बहसको केन्द्रमा रहेको उल्लेख गर्दै यस्तो अवस्थामा मदन भण्डारीको वैचारिक मार्गदर्शनलाई थप विस्तार र प्रयोग गर्नुपर्ने बताइन्।
भण्डारीले छोटो खुला राजनीतिक जीवन भए पनि मदन भण्डारीले नेपाली राजनीतिमा दीर्घकालीन वैचारिक प्रभाव छोड्न सफल भएको उल्लेख गरिन्। उनले मदन भण्डारीले स्थापित गरेको वैचारिक आधार, लोकतान्त्रिक संस्कृतिप्रतिको प्रतिबद्धता र राजनीतिक योगदान नेपाली राजनीतिक इतिहासका अमूल्य सम्पत्ति भएको बताइन्।
उनले विगतका राजनीतिक अनुभव र वैचारिक धाराको अध्ययनले भविष्यको दिशा तय गर्न सहयोग पुग्ने धारणा राखिन्। पूर्वराष्ट्रपति भण्डारीले युवाहरूलाई आधुनिक सूचना तथा सञ्चार प्रविधिको अधिकतम उपयोग गर्दै विचार, बहस र राजनीतिक चेतनालाई थप सशक्त बनाउन पनि सुझाव दिइन्।



