काठमाडौं,१२ जेठ । श्रम संस्कृति पार्टीले आफ्ना सबै तहका कार्यक्रम तथा प्रचार सामग्रीमा पार्टी अध्यक्ष हर्क साम्पाङको तस्वीर अनिवार्य रूपमा प्रयोग गर्न सर्कुलर जारी गरेको छ।
कोशी प्रदेश कार्यसमितिले जेठ ११ गते जारी गरेको उक्त निर्देशनमा जिल्ला देखि टोलस्तरसम्म सञ्चालन हुने हरेक कार्यक्रमका ब्यानर, पोस्टर तथा अन्य प्रचार सामग्रीमा अध्यक्षको तस्वीर राख्नुपर्ने उल्लेख गरिएको छ।
सर्कुलरमा महानगरपालिका, उपमहानगरपालिका, गाउँपालिका, वडा र टोल तहका सबै कार्यक्रमहरूमा एकरूपता कायम गर्न यस्तो व्यवस्था गरिएको जनाइएको छ।
प्रदेश समिति अध्यक्ष प्रताप राई र सचिव दीपक तिमिल्सिनाको हस्ताक्षर रहेको सर्कुलरमा ‘श्रद्धेय श्रम पिता अध्यक्ष हर्क साम्पाङज्यूको तस्वीर अनिवार्य रूपमा प्रयोग गर्नु गराउनु पर्ने’ उल्लेख गरिएको छ। पार्टीको यस निर्णयलाई नेतृत्वको छवि र पहिचानलाई अझ सशक्त बनाउने प्रयासका रूपमा व्याख्या गर्न थालिएको छ।



