spot_img

रणवीरमाथि लागेको प्रतिबन्धको विरोधमा उत्रिए फिल्मकर्मी

spot_img
spot_img

काठमाडाै,१४ जेठ । रणवीर सिंह र चलचित्र ‘डन ३’ बीचको विवादले बलिउडमा नयाँ बहस सिर्जना गरेको छ। निर्देशक फरहान अख्तर को बहुप्रतिक्षित चलचित्र ‘डन ३’ अचानक छाडेपछि फिल्म फेडरेसन अफ वेस्टर्न इन्डिया सिने एम्प्लोइज (एफडब्लूआईसीई) ले रणवीरविरुद्ध असहयोगको घोषणा गरेको हो।

फेडरेशनको निर्णयअनुसार अब उसँग आबद्ध प्राविधिक तथा विभिन्न क्राफ्टका सदस्यहरूले रणवीरसँग काम नगर्ने भएका छन्। यद्यपि, चौतर्फी आलोचनापछि एफडब्लूआईसीईका मुख्य सल्लाहकार अशोक पण्डित ले यो ‘प्रतिबन्ध’ नभई केवल ‘असहयोग’ भएको स्पष्ट पारेका छन्।

यस घटनापछि बलिउडका धेरै कलाकार रणवीरको पक्षमा खुलेका छन्। अभिनेता चंकी पाण्डे ले आफू पनि विगतमा यस्तै अवस्थाबाट गुज्रिएको स्मरण गर्दै चलचित्र उद्योग निकै संवेदनशील रहेको बताएका छन्। उनले सन् १९८७ मा चलचित्र ‘आग ही आग’ को छायाङ्कनका क्रममा आफू एक सातासम्म प्रतिबन्धमा परेको र पछि माफी मागेपछि मात्रै काम गर्न पाएको अनुभव साझा गरे।

त्यसैगरी, अभिनेता मनोज बाजपेयी ले विवाद चाँडै समाधान हुने अपेक्षा व्यक्त गरेका छन्। उनले सामाजिक सञ्जालमा आएको जानकारीबाहेक थप विवरण आफूहरूसँग नभएको भन्दै उद्योगभित्रको विषयलाई संवादबाटै टुंग्याउनुपर्ने बताएका छन्।

चलचित्र निर्माता सञ्जय गुप्ता ले भने फेडरेशनको कदमको आलोचना गर्दै यस्तो निर्णयले स्टारभन्दा बढी दैनिक ज्यालादारीमा काम गर्ने मजदुरहरूको रोजीरोटी प्रभावित हुने टिप्पणी गरेका छन्।

के हो विवाद ?

डन ३ लाई सन् २००६ र २०११ मा आएका शाहरुख खान स्टारर ‘डन’ फ्रेन्चाइजीको नयाँ संस्करणका रूपमा हेरिएको थियो। सन् २०२३ मा रणवीर सिंहलाई मुख्य भूमिकामा राखेर चलचित्र घोषणा गरिएको थियो।

प्रारम्भमा अभिनेत्री कियारा आडवाणी लाई मुख्य भूमिकामा लिइए पनि गर्भावस्था र मातृत्व बिदाका कारण उनले परियोजना छाडिन्। त्यसपछि कृति सेनन को नाम चर्चामा आएको थियो।

तर चलचित्रको छायाङ्कनमा ढिलाइ हुँदै गएपछि रणवीर अन्य परियोजनामा व्यस्त बने। निर्मातापक्षका अनुसार रणवीरले स्क्रिप्टमा परिवर्तन, थप हिंसात्मक दृश्य र संवादमा हस्तक्षेप गर्न खोजेका थिए, जसमा सहमति हुन नसकेपछि उनले चलचित्रबाट बाहिरिने निर्णय गरेका हुन्।

रणवीर बाहिरिएपछि फरहान अख्तरले प्रोड्युसर्स गिल्डमा उजुरी दर्ता गर्दै प्रि–प्रोडक्सन र सेड्युल परिवर्तनका कारण ४५ करोड भारु नोक्सानी भएको दाबी गरेका छन्। अभिनेता आमिर खान ले मध्यस्थता गर्ने प्रयास गरे पनि विवाद समाधान हुन सकेन।

एफडब्लूआईसीईले रणवीरलाई तीन पटक नोटिस पठाए पनि उनले यो कानुनी विषय भएकाले अदालतबाटै समाधान हुने जवाफ दिएका थिए। त्यसपछि मे २५ मा फेडरेशनले पत्रकार सम्मेलन गरी रणवीरसँग असहयोग गर्ने निर्णय सार्वजनिक गरेको हो।

रणवीर सिंहको टोलीले भने कलाकार र फ्रेन्चाइजीसँग आफ्नो सम्मानजनक सम्बन्ध रहेको उल्लेख गर्दै हाल सार्वजनिक प्रतिक्रिया दिनुभन्दा चुप रहनु उचित ठानेको जनाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय