बीरगन्ज,१७ जेठ । मधेस प्रदेश सरकारले पर्सा, बारा लगायत आठ वटै जिल्लामा बढ्दो डीजे प्रयोग र त्यसबाट हुने ध्वनि प्रदूषण नियन्त्रण गर्ने निर्णय गरेको छ।
गृह, सञ्चार तथा कानुन मन्त्रालयले सार्वजनिक स्थलमा अत्यधिक आवाज निकाल्ने डीजे तथा अन्य उपकरणको प्रयोगलाई सुरक्षा निकायको समन्वयमा नियन्त्रण गर्न स्थानीय तहलाई निर्देशन दिने निर्णय गरेको हो। प्रदेश सरकारले यसबारे प्रहरीलाई समेत आवश्यक निर्देशन दिइसकेको जनाएको छ।
गृहमन्त्री फकिरा महतो का अनुसार डीजेबाट सिर्जित “ध्वनि आतंक” नियन्त्रण गर्न कडाइका साथ अनुगमन गरिनेछ।
बैठकले मधेस भवन परिसरको सुरक्षा व्यवस्थापन सुदृढ गर्ने, कर्मचारी आवास क्षेत्र व्यवस्थित गर्ने, गुठी जग्गा संरक्षण गर्ने तथा फुटपाथ अतिक्रमण नियन्त्रण गर्ने निर्णय पनि गरेको छ।
त्यसैगरी जनकपुरधाम परिक्रमा क्षेत्रमा मदिरा बिक्री–वितरण नियन्त्रण गर्ने, मधेस भवनको सुरक्षा अवस्थाबारे अध्ययन गरी १५ दिनभित्र सुरक्षा मापदण्ड तयार गर्ने निर्णय गरिएको छ।
मन्त्रालयका अनुसार मधेस भवन परिसरको नियमित सरसफाइ ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयलाई जिम्मा दिइनेछ भने अनधिकृत रूपमा बसोबास गरिरहेका व्यक्तिहरूलाई हटाउने प्रक्रिया पनि अघि बढाइनेछ।
गुठी जग्गाको अभिलेख अद्यावधिक गर्दै अतिक्रमण रोक्ने र कानुनी कारबाही अघि बढाउने निर्णय पनि बैठकले गरेको छ। साथै, फुटपाथ व्यवस्थापनका लागि स्थानीय तहलाई सुरक्षा निकायसँग समन्वयमा आवश्यक सहयोग उपलब्ध गराइने मन्त्रालयले जनाएको छ।




