बीरगन्ज,२३ जेठ । पर्साको जिराभवानी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। गाउँपालिकाले कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्रमुख प्राथमिकतामा राख्दै विकास योजना अघि सारेको हो।
शनिबार वडा नं. ३ स्थित कृषि भवनको सभाहलमा सम्पन्न १७ औँ गाउँसभामार्फत नीति तथा कार्यक्रम सार्वजनिक गरिएको थियो। गाउँसभामा उपाध्यक्ष रेखा चौधरीको अनुमतिमा प्रमुख प्रशासकीय अधिकृत अमितकुमार गिरिले आगामी वर्षका कार्यक्रम प्रस्तुत गरेका थिए।
गाउँपालिकाले आगामी वर्षमा सबैभन्दा बढी जोड कृषि क्षेत्रको आधुनिकीकरण र उत्पादन वृद्धिमा दिने जनाएको छ। कृषि सँगै शिक्षा, स्वास्थ्य, युवा तथा महिला सशक्तिकरण र रोजगारी सिर्जनासम्बन्धी कार्यक्रमहरू पनि नीति तथा कार्यक्रममा समावेश गरिएको प्रमुख प्रशासकीय अधिकृत गिरिले जानकारी दिए।
उनका अनुसार गाउँपालिकालाई स्वच्छ, समृद्ध र नमुना स्थानीय तहका रूपमा विकास गर्ने लक्ष्यसहित नीति तथा कार्यक्रम तयार गरिएको हो।
गाउँपालिका अध्यक्ष अनोज चौधरीले स्वास्थ्य, शिक्षा, कृषि, महिला तथा बालबालिका, पर्यटन र भौतिक पूर्वाधार विकासलाई समेटेर नीति तथा कार्यक्रम ल्याइएको बताए। उनले पूर्वाधार निर्माणका कामलाई तीव्रता दिइने उल्लेख गर्दै गाउँपालिका तथा वडा कार्यालयको सेवा प्रवाहलाई अझ छिटो, छरितो र प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गरे।
गाउँसभामा उपाध्यक्ष रेखा चौधरी, प्रमुख प्रशासकीय अधिकृत अमितकुमार गिरि, विभिन्न वडाका अध्यक्षहरू, कार्यपालिका सदस्यहरू तथा शाखा प्रमुखहरूको उपस्थिति रहेको थियो।
त्यसैगरी शिक्षा शाखा प्रमुख, स्वास्थ्य शाखा प्रमुख, योजना शाखाका प्रतिनिधि, शिक्षक महासंघका प्रतिनिधि, सुरक्षाकर्मी तथा पत्रकारलगायत सरोकारवालाको समेत सहभागिता रहेको थियो।
गाउँपालिकाले नीति तथा कार्यक्रममार्फत स्थानीय विकासलाई गति दिने र जनताको जीवनस्तर सुधार गर्ने लक्ष्य लिएको जनाएको छ।




