spot_img

खाद्यजन्य रोग नियन्त्रणमा सरकार प्रतिबद्ध : मन्त्री मेहता

spot_img
spot_img

काठमाडौँ,२४ जेठ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले खाद्यजन्य रोगलाई गम्भीर जनस्वास्थ्य चुनौतीका रूपमा औँल्याउँदै त्यसको नियन्त्रणका लागि सरकार दृढतापूर्वक अघि बढिरहेको बताएकी छिन्।

विश्व खाद्य स्वच्छता दिवसको अवसरमा जारी शुभकामना सन्देशमार्फत उनले सुरक्षित र स्वच्छ खानपान सुनिश्चित गर्दै जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध रहेको स्पष्ट पारिन्। उनका अनुसार खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को प्रभावकारी कार्यान्वयनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ।

मन्त्री मेहताले खाद्य परीक्षण प्रयोगशालाको क्षमता विस्तार, जोखिममा आधारित बजार अनुगमन तथा नीतिगत सुधारका कार्यक्रमलाई तीव्रता दिइने जानकारी दिइन्। उनले खाद्यपदार्थको उत्पादनदेखि उपभोगसम्मको सम्पूर्ण प्रक्रियामा स्वच्छता कायम गर्नु राज्यको प्रमुख दायित्व भएको उल्लेख गर्दै असल कृषि अभ्यास, उत्पादन प्रक्रिया र सुरक्षित भण्डारण प्रणाली अपनाउनुपर्नेमा जोड दिइन्।

उनका अनुसार यस्ता अभ्यासले मात्र गुणस्तरीय खाद्यपदार्थको आपूर्ति सुनिश्चित गर्नुका साथै अस्वस्थ खानपानका कारण हुने स्वास्थ्य जोखिम र आर्थिक क्षति घटाउन मद्दत पुग्नेछ।

मन्त्री मेहताले खाद्य शृङ्खलामा आबद्ध सबै पक्ष—उत्पादक, व्यवसायी र उपभोक्तालाई स्वच्छ खानपानप्रति सचेत र जिम्मेवार बन्न आह्वान पनि गरिन्।

यस वर्ष ‘सबैतिर स्वच्छ खानपान, खाद्यजन्य समस्याको पहिचान’ भन्ने नारासहित विश्व खाद्य स्वच्छता दिवस मनाइँदै छ। विश्व स्वास्थ्य सङ्गठनका अनुसार हरेक वर्ष करिब ६० करोड मानिस दूषित खाद्य पदार्थका कारण बिरामी पर्ने र करिब चार लाख २० हजार मानिसले ज्यान गुमाउने अवस्था रहेको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय