spot_img

भारतमा एलपी ग्यास महँगियो, नेपालमा पनि मूल्यवृद्धिको सम्भावना

spot_img
spot_img

काठमाडौं,२४ जेठ । भारतले घरेलु प्रयोगका एलपी ग्यास सिलिन्डरको मूल्य वृद्धि गरेसँगै नेपालमा पनि ग्यासको मूल्य समायोजनको दबाब बढ्ने संकेत देखिएको छ। नेपालले सम्पूर्ण एलपी ग्यास भारतबाट आयात गर्ने भएकाले भारतीय बजारमा हुने मूल्य परिवर्तनको प्रत्यक्ष असर नेपाली बजारमा पर्ने गर्दछ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार १४.२ किलोग्राम क्षमताको घरेलु एलपी ग्यास सिलिन्डरको मूल्य आइतबारदेखि २९ भारतीय रुपैयाँले बढाइएको छ। नयाँ मूल्यअनुसार राजधानी नयाँदिल्लीमा एक सिलिन्डरको मूल्य ९१३ रुपैयाँबाट बढेर ९४२ भारतीय रुपैयाँ पुगेको छ।

यसअघि पनि गत मार्च ७ मा अन्तर्राष्ट्रिय ऊर्जा बजारमा आएको उतारचढाव तथा आपूर्ति शृंखलामा परेको प्रभावका कारण प्रति सिलिन्डर ५० रुपैयाँले मूल्य वृद्धि गरिएको थियो। पछिल्लो निर्णयले भारतीय उपभोक्तामाथि थप आर्थिक भार परेको छ भने यसको प्रभाव नेपालमा समेत देखिन सक्ने अनुमान गरिएको छ।

नेपालमा एलपी ग्यासको मूल्य निर्धारण नेपाल आयल निगमले भारतीय आयल कर्पोरेशन (आईओसी) बाट प्राप्त हुने मासिक खरिद मूल्यका आधारमा गर्दै आएको छ। भारतमा भएको मूल्यवृद्धिले आगामी महिनाको खरिद लागत बढ्न सक्ने भएकाले नेपालमा पनि ग्यासको मूल्य समायोजन हुन सक्ने सम्भावना रहेको जानकारहरू बताउँछन्।

यद्यपि नेपालमा ग्यासको मूल्य बढ्ने वा यथावत् रहने विषय भने आईओसीले पठाउने नयाँ मूल्यसूची, ढुवानी खर्च, विदेशी मुद्रा विनिमय दर तथा निगमको समग्र वित्तीय अवस्थामा निर्भर रहनेछ। ऊर्जा क्षेत्रका विज्ञहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा एलपी ग्यासको मूल्य उच्च रहिरहे नेपाल आयल निगमको वित्तीय भार बढ्न सक्छ। निगमले घाटा धान्न नसके उपभोक्ताले प्रत्यक्ष रूपमा मूल्यवृद्धिको असर भोग्नुपर्ने अवस्था आउन सक्छ।

यसैबीच भारतको पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालयकी संयुक्त सचिव सुजाता शर्माले घरेलु एलपी ग्यासको पर्याप्त आपूर्ति सुनिश्चित गर्न सरकारले आन्तरिक उत्पादन बढाउने र आवश्यकताअनुसार आयात विस्तार गर्ने नीति अवलम्बन गरेको जानकारी दिएकी छन्।

उनका अनुसार सरकारी अनुदानका बाबजुद घरेलु एलपी ग्यासमा प्रति सिलिन्डर करिब ७०० भारतीय रुपैयाँ बराबरको ‘अन्डर रिकभरी’ कायम छ। व्यावसायिक तथा औद्योगिक क्षेत्रमा ग्यासको खपत घट्नु, बुकिङ प्रणालीमा सुधार आउनु तथा ‘डेलिभरी अथेन्टिकेसन कोड (डीएसी)’ प्रभावकारी रूपमा कार्यान्वयन हुनुले माग व्यवस्थापनमा सकारात्मक प्रभाव परेको उनले बताइन्।

नेपालमा खाना पकाउने प्रमुख इन्धनका रूपमा एलपी ग्यासको व्यापक प्रयोग हुने भएकाले भारतीय बजारमा हुने मूल्य परिवर्तनलाई नेपाल आयल निगम तथा उपभोक्ताले चासोका साथ हेर्ने गरेका छन्। अब आईओसीबाट आउने आगामी मूल्यसूचीले नेपाली बजारमा ग्यासको मूल्य कता जाने भन्ने संकेत दिनेछ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय