spot_img

इन्धन मूल्य नघटाएको भन्दै सरकारमाथि प्रदीप पौडेलको प्रश्न

spot_img
spot_img

काठमाडौं,११ असार । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य उल्लेखनीय रूपमा घटिसक्दा पनि नेपालमा इन्धनको मूल्य यथावत् राखिएको भन्दै सरकार र नेपाल आयल निगमको आलोचना गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै पौडेलले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिव्यारेल ११७.६३ अमेरिकी डलरबाट घटेर ६९.२१ डलरमा झरेको उल्लेख गरेका छन्। उनका अनुसार विश्व बजारमा करिब ३० प्रतिशतभन्दा बढी मूल्य घटिसक्दा पनि नेपाली उपभोक्ताले त्यसको प्रत्यक्ष लाभ पाउन नसक्नु दुःखद अवस्था हो।

पौडेलले मूल्य नघटाइनुको कारणबारे नेपाल आयल निगमले दिने ‘कच्चा तेल नभई प्रशोधित तेल खरिद गर्ने भएकाले मूल्य तत्काल समायोजन गर्न नसकिने’ तर्कलाई पर्याप्त नठानेका छन्। उनले कच्चा र प्रशोधित तेलबीच केही समयको अन्तर र प्रशोधन लागत रहने भए पनि अन्तर्राष्ट्रिय बजारमा आएको ठूलो गिरावटले अन्ततः प्रशोधित तेलको लागत पनि घट्ने बताएका छन्।

उनले यति लामो समयसम्म मूल्य समायोजन नगर्नु, वास्तविक सूचना सार्वजनिक नगर्नु र पुरानै प्राविधिक कारण देखाइरहनु उपभोक्तामाथिको अन्याय भएको टिप्पणी गरेका छन्। साथै, यसले सरकार र सम्बन्धित निकायभित्र सुशासन, पारदर्शिता र प्रभावकारी व्यवस्थापनको अभाव उजागर गरेको उनको भनाइ छ।

पौडेलले स्वचालित मूल्य प्रणालीलाई प्रभावकारी रूपमा लागू गर्दै अन्तर्राष्ट्रिय बजारअनुसार इन्धनको मूल्य बढ्दा र घट्दा दुवै अवस्थामा समयमै समायोजन हुनुपर्ने बताएका छन्। “भाउ बढ्दा तत्काल लागू हुने तर घट्दा उपभोक्ताले राहत नपाउने अवस्था स्वीकार्य हुन सक्दैन,” भन्दै उनले उपभोक्ताको हितलाई प्राथमिकतामा राख्न सरकारसँग आग्रह गरेका छन्।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय