रौतहट,११ असार । रौतहटमा आफ्नी श्रीमतीको हत्या गरी फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा महन्थ राय यादव रहेका छन्।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार फतुवा विजयपुर नगरपालिका–६ निवासी ४२ वर्षीय यादवले आफ्नी ३२ वर्षीया पत्नी आरती देवी यादवको धारिलो हतियार प्रयोग गरी हत्या गरेका थिए।
प्रहरीका अनुसार घटना गत फागुन ३ गते आफ्नै घरको सुत्ने कोठामा भएको थियो। घटनापछि फरार रहेका यादवको खोजीका लागि प्रहरीले विभिन्न स्थानमा निगरानी तथा अनुसन्धान जारी राखेको थियो।
निरन्तर खोजतलास र प्राविधिक विश्लेषणका आधारमा जिल्ला प्रहरी कार्यालय रौतहट तथा इलाका प्रहरी कार्यालय लक्ष्मिनिया विजयपुरबाट खटिएको संयुक्त टोलीले उनलाई फतुवा विजयपुर नगरपालिका–८बाट पक्राउ गरेको जनाएको छ।
प्रहरीले पक्राउ परेका यादवमाथि थप अनुसन्धान भइरहेको जनाएको छ। सूचना अधिकारी बसन्त गौतमका अनुसार घटनासम्बन्धी कानुनी प्रक्रिया अगाडि बढाइएको छ।




